अबको चार महिनामा काठमाण्डौ धुलोसहित
धुलोरहित काठमाडौं बन्न अँझै चार महिना लाग्ने भएको छ । योजना अनुसार काम अघि बढे अबको चार महिनापछि काठमाडौं धुलोरहित बन्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरले धुलो तान्ने ब्रुमर खरिददेखि सडक पखाल्नेसम्मको योजना अघि बढाएको छ ।
सडक पखाल्ने काम भने सुरु भइसकेको छ । सडक पखाल्ने अभियानकै क्रममा महानगरपालिकाले धुलो तान्ने ब्रमर खरिद गर्दै छ । यसका लागि बढीमा चार महिना लाग्ने महानगरले जनाएको छ । पहिलो चरणमा पाँचवटा ब्रुमर खरिद गर्न बजेट विनियोजनसमेत गरिसकेको छ ।
दोस्रो चरणमा थप पाँचवटा ब्रुमर खरिद गर्ने योजना छ । १० वटा ब्रुमर खरिदका लागि करिब २५ करोड रुपैयाँ बजेट लाग्ने महानगरपालिकाको अनुमान छ ।
‘काठमाडौंका सडक पानीले पखाल्ने काम जारी रहँदा ब्रुमर मेसिन खरिद गरिसकिनेछ । यसका लागि बढीमा चार महिना लाग्नेछ,’ कार्यकारी अधिकृत ईश्वरराज पौडेलले भने, ‘ब्रुमर आएपछि काठमाडौंका सडक कुचोले होइन, ब्रुमरले सफा गरिनेछ । त्यसपछि काठमाडौं धुलोरहित बन्नेछ ।’
काठमाण्डौलाई धुलोमाण्डु बनाउने मेलम्ची आयोजना
काठमाण्डौका सडकलाई धुलाम्मे र हिलाम्मे बनाउने मुख्य काम मेलम्ची खानेपानी आयोजनाले गरेको छ । महानगरपालिकाको सडक पखाल्ने अभियानलाई मेलम्ची खानेपानी आयोजनाको सडक खन्ने कामले अवरोध गरेको कार्यकारी अधिकृत पौडेलको भनाइ छ ।
‘सडक पखाल्ने काम कालोपत्रे सडकमा मात्र सम्भव छ । तर, काठमाडौंका सडक खनिएका छन् । कालोपत्रे गरिएका छैनन,’ उनले भने, ‘त्यहाँका सडक पखाल्दा झन् हिलो हुने डर हुन्छ । यसले सडक सफाभन्दा पनि फोहोर हुन जान्छ । महानगरपालिकाको धुलोरहित अभियानमा मेलम्ची खानेपानीले अवरोध गरेको छ ।’
राति–राति सडक पखाल्न ६ वटा दमकल परिचालन
महानगरपालिकाले एक सातादेखि काठमाडौंका कालोपत्रे सडक दमकलबाट पखाल्दै आएको छ । यस क्रममा महानगरपालिकाले दैनिक ६ वटा दमकल सडक पखाल्न परिचालन गरिरहेको छ । रातको ९ बजेपछि काठमाडौंका कालोपत्रे सडक पखाल्ने काम सुरु हुन्छ । रातको १२ बजेसम्म यो क्रम जारी रहन्छ ।
महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले धुलोरहित काठमाडौं बनाउन यो अभियान सुरु गरिएको बताए । ‘काठमाडौंका बासिन्दा प्रदूषणबाट ग्रसित छन् । त्यसमध्ये सबैभन्दा धेरै धुलो छ । यसलाई नियन्त्रण गर्न महानगरपालिकाले विशेष योजना अघि सारेको हो,’ उनले भने, ‘सडक पखाल्ने अभियान त्यसैको निरन्तरता हो । कालोपत्रे सडक अबको केही दिनभित्रै धुलोरहित बन्नेछ । पूरै सहर धुलोमुक्त हुन अझै चार महिना लाग्नेछ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्