बाहिरिने भयो राप्रपा सरकारबाट, अब के होला ?
प्रधानन्यायाधीश सुशिला कार्की बिरुद्ध महाअभियोग लगाईएपछी राप्रपाले सरकार छाड्ने निर्णय गरेको छ । पार्टीका नेताहरुको दबावका बीच राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकारबाट फिर्ता भएपनि आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सघाउने र पूर्ण रुपमा सहभागी हुने राप्रपाले जनाएको छ ।
सोमबार बसेको कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रधानन्यायाधीशलाई महाअभियोग लगाइएको विषयमा राप्रपा असन्तुष्ट छ । प्रधान न्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव अनुचित, अनैतिक र न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै राप्रपाले यस्तो प्रस्ताव ल्याउने दलहरुसँग सहकार्य हुन नसक्ने जनाएको छ ।
सरकारमा सहभागी भएको प्रमुख सत्ता घटकलाई समेत थाहा नदिई छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता गर्नुले सरकारमा बसिरहनुको औचित्य समाप्त भएको बैठकपछि राप्रपा अध्यक्ष कमल थापाले पत्रकारहरुलाई बताएका छन ।
सरकारबाट बाहिरिए पनि संशोधन पछि चुनावको सुनिश्चिता भए पार्टीले संशोधनको पक्षमा नै मतदान गर्ने नेता दिलनाथ गिरीले बताएका छन । गिरीका अनुसार पार्टी लाइन विपरित गोप्य भेलामा सहभागी हुने १५ सांसदहरुलाई अनुशासनको कारवाही गरिने बैठकमा निर्णय भएको छ ।
राप्रपा बाहिरिएपछी सरकारको भविष्य के हुन्छ ?
सरकारमा रहेको राप्रपाले सरकार छाडेपछि सरकारको भविष्य के हुन्छ ? निर्वाचन गराउनका लागि भन्दै सरकारमा सहभागी भएको राप्रपा पहिलो चरणको निर्वाचनको मनोनयनको एक दिन अगाडि सरकारबाट बाहिरने निर्णय गरेको हो ।
कतिपयले राप्रपा सरकारबाट बाहिरिए सरकार नै ढल्छ भन्ने आशंका समेत गरेका छन् । तर, अंकगणित अझ त्यहाँ पुगिसकेको छैन । राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारसँग बहुमत कायमै रहन्छ ।
३७ सांसद रहेको राप्रपा बाहिरिए पनि सरकारसँग बहुमत अर्थात २९८ भन्दा बढि सांसदहरुको समर्थन हुनेछ । त्यसमा नेपाली कांग्रेस २०७, माओवादी केन्द्र ८८ र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका १४ सांसद गर्दा ३०२ सांसद सरकारकै पक्षमा हुनेछन् । यसबाहेक साना दलको केही सांसद पनि सरकारको पक्षमा छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्