दुई ध्रुवका कांग्रेस र माओवादीबीच चुनावी तालमेल
राजनितीक विचारधाराका हिसाबले दुई ध्रुवका नेपाली काँग्रेस र माओवादी केन्द्रबीच दुई महानगर, एक उपमहानगर र ४ नगरपालिकामा उम्मेद्वारीमा तालमेल भएको छ । नेपाली काँग्रेसको केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएका हुन् ।
पोखरा लेखनाथ महानगरपालिकामा माओवादी केन्द्रले कांग्रेसका मेयरका उम्मेदवार रामजी कुँवरलाई सघाउने भएको छ भने कांग्रेसले भरतपुर महानगरका माओवादीका मेयरका उम्मेदवार रेणु दाहाललाई सहयोग गर्ने भएको हो ।
यस्तै मकवानपुरको हेटौडा उपमहानगरपालिकामा माओवादीले कांग्रेसका मेयरका उम्मेदवार आनन्दराज पराजुलीलाई सहयोग गर्नेछ भने थाहा नगरपालिकामा कांग्रेसले आफ्ना उम्मेदवारको नाम फिर्ता लिदै माओवादी उम्मेदवार लबशंकर बिष्टलाई साथ दिने सहमति भएको छ ।
धादिङको निलकण्ठ नगरपालिकामा पनि तालमेल गरेर चुनावमा जाने दुई पार्टीको स्थानीय नेतृत्वले सहमति गरेको छ । सहमति अनुसार मेयरमा कांग्रेसका उम्मेदवार भीम ढुंगाना रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट शैलेश भण्डारी उपमेयरमा चुनाव लड्ने भएका छन् ।
यसैगरी भीमेश्वर नगरपालिका दोलखामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार ईश्वर मानन्धरलाई माओवादी केन्द्रले सघाउनेछ भने उपमेयरमा माओवादीकी कमला कार्की उम्मेदवार बनेकी छिन् । डोल्पाका स्थानीय जिल्लाका नेताहरुको सहमतिमा ठूली भेरी नगरपालिकामा पनि चुनावी तालमेल भएको छ ।
जसअनुसार माओवादीले आफ्नो उम्मेदवारको नाम फिर्ता लिदै कांग्रेसका मेयरका उम्मेदवार सुवर्ण बुढालाई सघाउने भएको छ भने कांग्रेसले उपमेयरमा माओवादी केन्द्रकी उम्मेद्वार लक्ष्मीचन्द्र कार्कीलाई सहयोग गर्ने सहमति भएको जनाइएको छ ।
नेता लेखकले गणतन्त्रका पक्षधर शक्तिहरुबीच हुन लागेको चुनावी तालमेल राजनीतिक महत्वको भएको जिकिर गरेका छन । उनले यो गठबन्ध पवित्र र व्यवहारिक भएको पनि उल्लेख गरेका छन ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्