भारु ६५ मा २ करोड एलईडी किन्दै प्राधिकरण
नेपाल विद्युत प्राधिकरणलाई बेच्न लागिएको एलइडी बल्बको मूल्य भारु ६५ पर्ने भारतीय इनर्जी इफिसेन्सी सर्भिस लिमिटेड (ईईएसएल) ले जनाएको छ । ईईएसएल भारतीय सरकारी कम्पनी हो, जोसँग प्राधिकरणले २ करोड एलईडी बल्ब किन्ने तयारी गर्दैछ ।
नेपाल विद्युत् प्राधिकरणले एलइडी बल्ब खरिद गर्न लागेको भारतीय सरकारी स्वामित्वको कम्पनीले आफ्ना जनताले पाएकै मूल्यमा नेपाल सरकारलाई एलइडी बेच्न लागेको बताएको हो । केही राज्यका तुलनामा नेपालले सस्तोमो बल्ब किन्न पाएको उसले जानकारी दिएको छ ।
ईईएसएलकी जनसम्पर्क अधिकृत नेहा भटनाघरले भारतमा उजाला योजना अन्र्तगत एलइडी बल्ब ६५ देखि ७० भारुसम्म पर्ने जानकारी बताएकी छिन् । विभिन्न प्रदेशमा लाग्ने यातायात खर्चअनुसार यसको मूल्य ६५ देखि ७० भारु सम्म पर्ने भटनाघरले जानकारी दिइन् ।
नेपाललाई पनि उजाला योजना अन्र्तगतकै मूल्य ६५ भारुमै बेच्न लागिएको उनले बताइन् । यसको अर्थ नेपाललाई एलईडी बल्ब किन्दा अधिकतम् १ सय ४ नेपाली रुपैयाँ पर्नेछ । प्राधिकरणले कर जोडेर यसलाई बिक्री गर्नेछ ।
साथै कम्पनीले नेपालको हेटौंडासम्म आफैले बल्ब ल्याइदिन लागेको छ । यसरी ल्याउँदा बीचमा टुट–फुट भएर क्षति भए पनि ईईएसएलले नै ब्यहोर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाअनुसार प्रति एलइडी बल्ब भारतीय कम्पनीलाई भारु ६५ तिरिनेछ ।
करहरुसहित यो बल्ब नेपाली बजारमा १ सय ३५ देखि १ सय ४० रुपैयाँसम्म पर्ने अनुमान छ । अहिले यो बल्ब नेपाली बजारमा ३ सय ५० देखि ४ सय रुपैयाँसम्म पर्ने गरेको छ । भारतमा ईईएसएलले फिलिप्स र ओस्रामसँग मात्रै एलईडी बल्ब खरिद गर्दै आएको छ । यि दुबै कम्पनी विश्वबजारमा गुणस्तरीय एलइडीका उत्पादक मानिन्छन् ।
योजना अनुसार २ करोड लिड बल्ब खरिद गर्दा २ सय मेगावाट बिजुली बच्ने प्राधिकरणको दाबी छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार अहिले खरिद गर्न लागिएको २ करोड बल्बहरु ७ र ९ वाटका हुन् । यो खरिद गर्नको लागि २ अर्ब रुपैयाँ लाग्छ ।
यदि एलइडी बल्ब वितरण गर्न सक्ने हो भने २ सय मेगावाट बिजुलीको लोडसँगै राज्यको ४० अर्ब रूपैयाँ बचत हुने प्राधिकरणको तर्क छ । २ सय मेगावाटको आयोजना बनाउनको लागि राज्यको झण्डै ४० अर्ब भन्दा बढि रकम खर्च हुने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्