सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

माओवादीले १७ राउण्ड गोली चलायो, एकको मृत्य

पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रकी नेतृ देवी खड्का र अरु केन्द्रीय नेताहरुकै संलग्नतामा एमाले उम्मेद्वारका छोरोको निर्मम हत्या भएको दोलखा एमालेले बताएको छ । जुँगुका स्थानीय एमाले नेताहरुका अनुसार उनीहरुले कार्यकर्ताको साथ लिएर दोलखामा गोली चलाउँदै कुटिकुटी वडा अध्यक्षका छोराको हत्या गरेका हुन् ।

उनीहरुको आक्रमणबाट एमाले गाऊँ पार्टी कमिटी अध्यक्षका बाबु गम्भिर घाईते भएका छन् । मंगलबार पूर्व मन्त्री खड्का र नेता विशाल खड्काकै नेतृत्वमा दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुँगुमा अन्धाधुन्दा गोली प्रहार गरी एमाले नेता कार्यकर्ता माथी आक्रमण गरेको एमालेले जनाएको छ ।

उनीहरुको आक्रमणबाट गौरीशंकर गाउँपालिका वडा नं. १ मा नेकपा एमालेबाट वडा सदस्यको उम्मेद्वार बनेका गोरे तामाङका ३३ बर्षिय छोरा कुलबहादुर तामाङको ज्यान गएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको थियो । अस्पताल पुर्याउदै गर्दा उनको बाटोमै ज्यान गएको दोलखा प्रहरीले जानकारी दिएको छ ।

यसैगरी आक्रमणबाट नेकपा एमाले गौरिशंकर गाऊँपालिका वडा नं. १ पार्टी कमिटीका अध्यक्ष बद्री बुढाथोकीका बाबु दिलबहादुर बुढाथोकी गम्भिर घाईते भएका छन् । उनको अवस्था पनि गम्भिर छ । घाईते बुढाथोकीलाई राति नै उपचारका लागि काठमाडौ पठाइएको छ ।

देवी खड्का नेकपा माओवादी केन्द्रकी केन्द्रीय नेतृ तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री हुन् । विशाल खड्का पनि केन्द्रीय स्तरका नेता हुन् । उनीहरु कार्यकर्तासहित जुँगु पुगेर एमाले नेता कार्यकर्तालाई छेकिछेकी आक्रमण गरेको स्थानीयको दावी छ ।

माओवादीको जंगली व्यवहारः सांसद पार्वत गुरुङ
घटनाका प्रत्यक्षदर्शी सांसद पार्वत गुरुङले देवी खड्काले १७ राउण्ड गोली चलाएर एमाले कार्यकर्ता बसेको सेल्टरमा आक्रमण गरेको बताएका छन । उनले भने ‘चुनावी प्रचार सकाएर आराम गरिरहेका हाम्रा कार्यकर्ता बसेको सेल्टरमा चारैतिरबाट घेरा हालेर आक्रमण गरे, कुलबहादुरलाई घिसार्दै विद्यालयको आँगनमा लगेर कुटपिट गरे त्यसपछि स्कुल मुनी फालिदिए ।’

गुरुङले एकदमै दुःखद घट्ना घटेको भन्दै सशस्त्र द्वन्द्धको जस्तो जंगली व्यवहार देखाएर माओवादीले एमाले कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने काम जारी राखेको भन्दै प्रहरी प्रशासन समेत मुकदर्शक बनेको आरोप लगाएका छन ।

उनले घटनामा देवी खड्का र विशाल खड्काको अलावा ढालबहादुर खड्का, बसन्त कार्की, विर्खबहादुर खड्का, दलबहादुर कार्की, बलराम खड्का, रोशन कार्की समेत प्रत्यक्ष संलग्न रहेको आरोप लगाउँदै प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरेको बताएका छन ।

माओवादी केन्द्र दोलखाले भने एमालेले लगाएका यी सबै आरोपको प्रतिवाद गरेको छ । माओवादी केन्द्रका अनुसार चुनाव प्रचारका क्रममा जुँगु जाँदै गरेको पुर्वराज्यमन्त्री देवी खड्कासहीतको टोलीमाथी अन्धाधुन्दा आक्रमण भएपछी दोहोरो झडप भएको हो । माआवादी केन्द्रले घटनालाई अतिरञ्जित नगर्न एमालेलाई चेतावनी दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्