सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मतदान सकियो, प्राय ठाउँमा मतगणनाको तयारी

स्थानीय तहको पहिलो चरणको चुनाव सम्पन्न भएको छ । प्रदेश नम्वर, ३, ४ र ६ का दुई सय ८३ तहमा पहिलो चरणमा स्थानीय तहको चुनाव भएको हो ।

यो सँगै १३ हजार ५ सय ५६ उम्मेदवारले जनप्रतिनीधिको हैसियत प्राप्त गर्ने बाटो खुला भएको छ । ती प्रतिनीधि को हुनेछन् ? अबका केही घण्टापछि सार्वजनिक हुँदै जाने छन् । अहिले जनप्रतिनीधिको भविष्य मतपेटिका भित्र छ ।

मतदान समय सकिएसँगै उपत्यकाका दुई महानगरपालिका काठमाडौं र ललितपुरमा आजै मतगणना सुरु हुने भएको छ । जिल्ला निर्वाचन अधिकृतहरुले दिएको जानकारी अनुसार भक्तपुरका चारै नगरपालिकामा पनि आजै मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

मतदान सम्पन्न भएपछि प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गर्ने र गणना सुरु गरिने ललितपुरका प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जनाएका छन ।

ललितपुर महानगरपालिकामा वडा नम्बर १ बाट मतगणना थाल्ने तयारी भएको छ । प्रमुख निर्वाचन अधिकृत दवाडीले उम्मेदवारहरुले नै आजदेखि मतगणना गर्न चाहेकाले त्यस्तो तयारी गरेको बताएका छन ।

यस्तै भक्तपुर नगरपालिकाले पनि आजैबाट मतगणना गर्ने तयारी रहेको छ । प्रमुख निर्वाचन अधिकृत भोजराज शर्माले सर्वदलिय बैठक राखेर आजैबाट मतगणना गराउन लागेको जानकारी दिएका छन ।

सबै केन्द्रबाट मतपेटिका आएपछि दलहरुको सहमतिमा आजैबाट मतगणना थालिने उनले जानकारी दिए । प्रमुख निर्वाचन अधिकृत शर्माले जिल्लाका अन्य ३ नगरपालिकाहरुमा पनि आजै मतगणना गर्ने तयारी गरेको बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्