सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दोलखामा सीडीओ र डीएसपीकै सहयोगमा बुथ कब्जा

प्रमुख विपक्षी नेकपा एमालेले दोलखा जिल्लाका अधिकांश मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखकै सहयोगमा सत्तारुढ गठबन्धनले बुथ कब्जा गरेको भन्दै पुनः मतदानको माग गरेको छ ।

मतदान सम्पन्न भएपछि एमाले महासचिव ईश्वर पोखरेल र सचिव योगेश भट्टराईले फेसबुक लाइभमार्फत तामाकोशी र बैत्यश्वर गाउँँपालिकाका आधा दर्जनभन्दा बढी मतदान केन्द्रमा पुनःनिर्वाचनको माग गरेका हुन् ।

महासचिव पोखरेलले भने–‘दोलखामा धेरै ठाउँमा मतदातालाई मतदान गर्नबाट बञ्चित गरी सत्तापक्षले कब्जा गरेको छ । एमालेका उम्मेदवारले सुरक्षा माग्दा सुरक्षाकर्मीले उल्टै बुथ कब्जा गर्न सघाएका छन् । त्यहाँका सिडिओ र डीएसपी अत्यन्त उद्दण्ड ढंगले प्रस्तुत भएकाले हामी गम्भीर बनेका छौं । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने सन्दर्भमा उनीहरुको भूमिका सकारात्मक रहेन ।’

दोलखाको घटनाबारे आफूले प्रमुख निर्वाचन आयुक्तसँग कुरा गरेको र पुनः मतदानका लागि ध्यानाकर्षण गराएको पोखरेलले बताएका छन । ‘गोली चलाएर हत्या गरिएको छ, बाहिरबाट लगिएका पेशेवर गुण्डाहरुबाट बन्दूक लगायत घरेलु हतियारबाट उम्मेद्वार र मतदातामाथि आक्रमण गरेर लेखेटिएको छ’ पोखरेलले भने निर्वाचन आयोगले यो कुरा बुझेर प्रक्रियासँगत ढंगले पुन मतदान गराउनुपर्छ, नत्र स्वीकार्य छैन ।’

एमालेले निर्वाचन आयोगको भूमिकामाथि समेत अशन्तुष्टि जनाएको छ । आयोग निरीह र लाचार देखिएको महासचिव पोखरेलले बताएका छन । उनले भने–‘हामी निर्वाचन आयोगको इन्टिग्रिटीमाथि प्रश्न उठाउन चाहदैनौं, तर आयोगको भूमिका यो भन्दा शसक्त हुनुपथ्र्यो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्