सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एमालेमाथी खुकुरी हान्ने घरविदामा गएका आर्मी

दैलेखको दुल्लु नगरपालिकामा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ परेका चारमध्ये एकजना नेपाली सेनाका जवान रहेको पुष्टी भएको छ । नगरपालिकाको ७ नम्बर वडामा एमाले बिजयी भएपछि एमाले कार्यकर्ताले बिजय जुलुस निकाल्दा विवाद भएको थियो ।

जुलुस सकेर घरमा बसेका एमाले कार्यकर्तामाथि खुकुरी प्रहार गर्दा ७ जना घाइते भएका छन् । खुकुरी प्रहारको नेतृत्व गर्ने प्रेमबहादुर भण्डारी सहित नगेन्द्र भण्डारी, शक्ति सुनार र प्रेम सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये प्रेमबहादुर भण्डारी नेपाली सेनाको रणभैरव गणमा कार्यरत सैनिक रहेको इलाका प्रहरी कार्यालय दुल्लुका इन्सपेक्टर धु्रवकुमार श्रेष्ठले बताए । उनी बुवा बिरामी भन्ने निवेदन दिएर घरबिदामा आएको तर उनका बुवाको १० वर्षअघि नै मृत्यु भएको ईन्सपेक्टर श्रेष्ठले बताएका छन ।

खुकुरी प्रहारबाट घाइते हुने एमाले कार्यकर्ताहरु तिलक उपाध्याय, भगतलाल बानिया, बालकुमारी योगी, सुर्जा पाण्डे, सतानन्द पाण्डे, फुर्ति पाण्डे, पूर्ण पाण्डेको दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । यसैबीच एमालेले दैलेखका बिभिन्न ठाउँमा विजय जुलुस गर्न समेत कांग्रेसले नदिएको भन्दै सुरक्षा माग गरेको छ । जिल्लाका सांसद तथा एमाले नेताहरुले जिल्ला प्रशासन समक्ष सुरक्षा माग गरेका छन् ।

ठाँटीकाँध गाउँपालिकामा विजय जुलुस गर्दा कांग्रेस कार्यकर्ताले ढुंगा प्रहार गरी २० जना घाइते भएको एमाले केन्द्रीय प्रचार बिभाग सचिव विष्णु रिजालले बताएका छन । हाल दैलेखमा रहेका रिजालले भने–‘यहाँ हामीले जिल्लामा चुनाव त जित्यौं तर बिजय जुलुस समेत गर्न पाइएन, पूरै आतंक मच्चाइएको छ । हामीले सुरक्षा मागेका छौं ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्