सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सहमति पालना गर्दै प्रधानमन्त्रीले दिए राजीनामा

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तागठबन्धन दल नेपाली कांग्रेससँगको सहमति अनुसार पदबाट राजीनामा दिएका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट देशबासीका नाममा सम्बोधन गर्दै दाहालले राजीनामा दिएको घोषणा गरेका हुन् ।

आफूले सफल प्रधानमन्त्रीका रुपमा बिदा लिन पाएको भन्दै उनले खुसी समेत व्यक्त गरेका छन । दाहालले संसदमा सम्बोधन गरेर राजीनामा दिन चाहेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिने चेतावनी दिएपछी सिंहदरवारबाटै सम्बोधन गरेका हुन ।

दुई दिनसम्म चलेको सहमतिको प्रयास असफल भएपछि प्रधानमन्त्री दाहालले सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने निर्णय लिएका थिए । राजनीतिको सबैभन्दा ठूलो समस्या इमानको कमी र उपयोगको संस्कृति भएको भन्दै उनले आफूले नेपाली राजनीतिमा रहेको नैतिकताको खडेरी तोड्ने संकल्प गरेको भन्दै उनले भने, ‘नेपाली कांग्रेससँग भएको समझदारी अनुसार नै म अगाडि बढ्दैछु ।’

सम्बोधनमा उनले भने–‘सत्ता छाड्नुपर्दा अहिलेसम्म देखिने गरेका पीडा, आक्रोस र छटपटीको परम्परा तोड्दै अबका दिनमा राजनीतिज्ञ, सांसद र नागरिकका रुपमा मुलुक र जनताको उत्थानमा क्रियासिल रहने प्रतिवद्धतासहित आजै र अहिले नै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्छु ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्