झापाका ९ स्थानीय तहमा एमालेले उम्मेद्वार तोक्यो
नेकपा एमालेले दोस्रो चरणको निर्वाचनका लागी झापाको ९ स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । एक नम्बर प्रदेश कमिटीको मंगलबार राति बसेको बैठकले उम्मेद्वार टुंगो लगाएको हो ।
बैठकले भद्रपुर नगरपालिकाको मेयरमा जीवनकुमार श्रेष्ठ र उपमेयरमा चन्दा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी, दमकको मेयरमा रोमनाथ ओली र गौरादहको मेयरमा मदन अधिकारीलाई उमेद्वार बनाउने निर्णय भएको छ ।
एमालेका झापा अध्यक्ष चिन्तन पाठक बुद्धशान्ति नगरपालिकामा मेयरको पदमा उठ्ने भएका छन् भने उपमेयरमा मीना भूर्तेललाई उठाइने भएको छ । कमल नगरपालिकाको मेयरमा मेनका काफ्ले र उपमेयरमा वेणु शिवाकोटीलाई उठाउने निर्णय गरिएको छ ।
अर्जुनधारा नगरपालिकामा हरि राना र उपमेयरमा कमला आचार्यलाई उठाउने तयारी गरिएको छ । पाँच गाउँपालिकामध्ये कचनकवल र झापा गाउँपालिकामा सर्वसम्मत उमेदवार तय भइसकेको छ । कचनकवलमा शेरबहादुर खत्री र धनमाया दाहाललाई अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार बनाउने सर्वसम्मत भइसकेको छ ।
झापा गाउँपालिकाको अध्यक्षमा गजेन्द्र ताम्ली र उपाध्यक्षमा कुन्ती बुढाथोकीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको छ । बाह्रदशी गाउँपालिकाको अध्यक्षमा लक्ष्मण पाठक र उपाध्यक्षमा गंगा धमलालाई उपाध्यक्षमा उम्मेदवार बनाउने तय भएको छ ।
नेकपा एमाले १ नम्बर प्रदेश कमिटीले मेचीनगर, बिर्तामोड, कनकाई, शिवसताक्षी नगरपालिका र गौरीगञ्ज तथा हल्दिबारी गाउँपालिकाको उम्मेदवार भने केही दिनपछि टुङ्गो लगाउने बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्