आउँदो हप्ता चिनियाँ ईन्टरनेटसँग जोडीँदै नेपाल
अबको एक हप्ताभित्रै नेपाल चिनियाँ इन्टरनेटसँग जोडिने भएको छ । नेपाल टेलिकमले जेठ १८ गतेभित्रै रसुवा नाका भएर नेपालमा चीनबाट इन्टरनेट ल्याउन लागेको हो ।
यसअघि झण्डै ६ महिनाअघि नै चीनबाट इन्टरनेट ल्याउने भनिएको थियो । तर, इन्टरनेटलाई चिनियाँ क्षेत्रमा हिउँले अवरोध सिर्जना गरेको थियो ।
अहिले चीनले हिउँको यस्तो अवरोध छिचोलेर नेपालमा इन्टरनेट ल्याउन सबै तयारी सकाएको टेलिकमका सह–प्रवक्ता सोभन अधिकारीले जानकारी दिएका छन ।
चीनले गर्यो रि–रुटिङ
जाडो महिनाभर चीनतर्फ बिग्रिएर मर्मत गर्नुपर्ने भएको इन्टरनेटको अप्टिकल फाइबर बाक्लो हिउँले पुरिएको थियो । हिउँले प्रभावित क्षेत्रबाट आउने अप्टिकललाई चीनले रि–रुटिङ गरेको टेलिकमका सह–प्रवक्ता सोभन अधिकारीले बताएका छन ।
‘३ किलोमिटर अप्टिकल रुटलाई चीनले रि–रुटिङ गरेर नेपालमा इन्टरनेट पठाउन लगभग तयारी सकाएको छ’ टेलिकमका सह–प्रवक्ता सोभन अधिकारीले भने । चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको ६ महिना पछि चिनियाँ इन्टरनेट नेपालसँग जोडिन लागेको हो ।
नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको थियो ।
नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल अप्टिकल फाइबरमार्फत जोडिइसकेका छन् । अब यही मे महिनाभित्रै इन्टरनेट पनि नेपाल आइपुग्नेछ ।
‘सुरुमा मार्चभित्रै जोडिनुपर्ने भनिएको थियो, तर, बाक्लो हिउँ नै समस्या बनेकोले अब मे महिनासम्म लाग्ने भनिएको थियो, अहिलेसम्म चिनियाँ पक्षले मे महिनाको भाका सारेको छैन’ सह–प्रवक्ता अधिकारीले भने, ‘प्राकृतिक कारण नै यो काममा थोरै ढिलाइ भएको हो । तर, अबको एक हप्ताभित्रै चीनको इन्टरनेट नेपालमा पनि जोडिने चिनियाँ अधिकारीले जानकारी दिएका छन् ।’
चीनले यसअघि नै मे महिनाभित्र जसरी पनि नेपालाई आफ्नो सञ्जालमा आवद्ध गर्ने बताएको थियो । त्यो डेटलाइनमा कुनै परिवर्तन नभएकाले अबको एक हप्ताभित्रै इन्टरनेटमा नेपाल चीनसँग पनि जोडिने निश्चित भएको हो ।
भारतीय एकाधिकार समाप्त हुने
चीनबाट आउने इन्टरनेट नेपाल टेलिकमको नेटवर्कमा जोडिएपछि इन्टरनेटमा भारतीय एकाधिकार समाप्त हुनेछ । चिनियाँ इन्टरनेट टेलिकमको केन्द्रीय नेटवर्कमै जोडिएर उपभोक्तामाझ पुग्नेछ ।
ब्यवसायिक रुपमा भारतीय सेवा प्रदायकसँग भन्दा चीनबाट ल्याइने इन्टरनेट थोरै महंगो हुनेछ । तर, चीनमार्फत तेस्रो मुलकका सेवा प्रदायकसँग जोडिने मौका भने यसबाट मिल्नेछ । अब हङकङसँग इन्टरनेटमा आवद्ध हुन पनि यसले सहयोग गर्नेछ ।
यसको मार्फतबाट चीन हुँदै टेकिलमको इन्टरनेट नेटवर्क अब हङकङसम्म नै जोडिने सह–प्रवक्ता अधिकारीले बताए । टेलिकमले भारतका टाटा, एयरटेल, बीएसएनएल, भारत पन्जाव र रिलायन्सबाट २२ जीबी भोल्युमको इन्टरनेट ल्याइरहेको छ । मेपछि भारतको यो एकाधिकार नेटवर्क सकिनेछ ।
यस्ता छन चीनको इन्टरनेटका फाइदा
चीनसँग स्थल मार्ग हुँदै फाइबर जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने अपेक्षा छ । भारत हुँदै प्रयोग गरिएको रुट बाहेक अन्र्तराट्रिय कनेक्टिभिटीको लागि यो अर्को महत्वपूर्ण विकल्प हो ।
अब चिनियाँ मार्गबाट पनि इन्टरनेट आवद्धता सम्भव भइसकेको छ । यसअघि भारतीय मार्गबाट मात्र सो सम्भव थियो । नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकोमा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आवद्ध हुन लागेको हो ।
चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ । चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार कार्य गरिरहेको छ ।
चीनले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्