को हुन चुनावमा ह्याट्रिक हारेका अर्थमन्त्री
कांग्रेसवृत्तमा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको नाम नौलो होइन तर, नयाँपुस्ताका लागि यो नाम नौलो र अनपेक्षित हो । कार्की अर्थमन्त्री बनेलगत्तै निजी क्षेत्रका व्यवसायीहरु यी मन्त्री को हुन् र कहाँबाट आइपुगे भन्दै खोजीमा लागेका छन् ।
मन्त्री कार्की पनि विगतका अर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, वर्षमान पुन, विष्णु पौडेल र कृष्णबहादुर महराजस्तै अर्थशास्त्र नपढेका अर्थमन्त्रीको लाइनमा थपिएका छन् । बुधबार दिउँसो शीतलनिवासमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खाने बेलासम्म ज्ञानेन्द्र कार्कीको नाम भौतिक पूर्वाधार मन्त्रीका रुपमा चर्चामा थियो । तर, उनी एकाएक अर्थमन्त्री बनाइए ।
अर्थमन्त्री ज्ञानेन्द्र कार्कीका रोचक संयोग
कांग्रेस नेता महेश आचार्यको चर्चा र निर्णयलाई अन्तिम क्षणमा उल्ट्याउँदै अर्थमन्त्री बनेका ज्ञानेन्द्रबहादुर कार्कीको राजनीतिक जीवनमा यस्तो संयोग यो नै पहिलो होइन । पहिलो पटक ०६३ सालमा मन्त्री बन्दा पनि कार्कीको संयोग यस्तै परेको थियो ।
दोस्रो जनआन्दोलन लगत्तै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा तत्कालीन प्रजातान्त्रिक कांग्रेसका तर्फबाट जलस्रोत मन्त्रीमा चित्रलेखा यादवको नाम सिफारिस भएको थियो । तर, आफू पुर्नस्थापित प्रतिनिधिसभाको उपसभामुख हुँदाहुँदै पनि सभामुख नबनाएको भनेर यादवले मन्त्री पद अस्वीकार गरिन् ।
यादवले अस्वीकार गरेपछि तत्कालीन सभापति शेरबहादुर देउवाले ज्ञानेन्द्रलाई जलस्रोत राज्यमन्त्री बनाए । माओवादीबाट जुनियरहरु मन्त्री भएपछि कार्की क्याबिनेट मन्त्रीमा बढुवा भए ।
शेरबहादुर देउवापछि नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका कार्कीले राजनीतिक जीवनमा सधैं कृष्णप्रसाद भट्टराईलाई आदर्श माने । भट्टराईपछि उनले देउवालाई अनवरत साथ दिए । कार्कीले ०४७ सालमा भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बनेका बेला स्वकीय सचिव भएर सघाए ।
हारमा ह्याट्रिक अर्थमन्त्री कार्कीलाई चुनाव कहिल्यै फापेन
अर्थमन्त्री कार्कीका लागि चुनाव कहिल्यै फापेन । ०५१ सालको मध्यावधि चुनावमा भोजपुर १ मा एमालेका हेमराज राईसँग कार्की २६ भोटको झिनो मतान्तरले हारेका थिए ।
त्यसबेला एमाले नेता राईले १५ हजार ९ सय ७४ मत पाएका थिए भने कार्कीले १५ हजार ९ सय ४८ मत पाएका थिए ।
मन्त्री कार्की ०५६ को चुनावमा भोजपुर १ बाट पुनः चुनाव लडे । त्यसबेला पनि उनलाई भाग्यले साथ दिएन । एमाले फुटेर हेमराज राई मालेको उम्मेवार बन्दा पनि उनले जित्न सकेनन् ।
एमालेका घनेन्द्र बस्नेतसँग कांग्रेस नेता कार्की ८३८ मतान्तरले पराजित भए । बस्नेतले त्यसबेला १५ हजार ४ सय ४३ मत ल्याएका थिए भने कार्कीले १४ हजार ६ सय ५ मत पाएका थिए ।
पहिलो संविधानसभामा पनि कार्की भोजपुर १ बाट चुनाव लडे । यो चुनाव कार्कीका लागि हारको ह्याट्रिक बन्यो । त्यसबेला कार्की माओवादीका पदम राईसँग २ हजार २ सय १४ को मतान्तरले हारे ।
हारमा ह्याट्रिक गरेपछि कार्कीले ०७० को दोस्रो संविधानसभामा लड्ने हिम्मत गरेनन् । र, उनी समानुपातिक तर्फबाट सांसद बने । र, यही समानुपातिक आधारमा टेकेर अहिले उनी अर्थमन्त्री बन्न सफल भएका छन् ।
को हुन् त अर्थमन्त्री ज्ञानेन्द्र कार्की ?
भोजपुरको देउराली गाविस वडा नं. ४ मा जन्मेका ६० वर्षीय कार्कीले अर्थशास्त्र पढेका छैनन् । उनको शैक्षिक योग्यता राजनीतिशास्त्रमा स्नातकोत्तर हो । ०३३ सालदेखि कांग्रेसको राजनीतिमा लागेका उनी ४ वर्ष जेल बसेका छन् ।
उनकी एक छोरी छिन् । गत साल कार्कीकी पत्नीको क्यान्सरबाट निधन भएको छ ।
भोजपुरबाट अर्थमन्त्री हुने ज्ञानेन्द्र दोस्रो नेता भएका छन् । यसअघि खिलराज रेग्मी सरकारका पालामा भोजपुरकै शंकर कोइराला अर्थमन्त्री भएका थिए ।
भोजपुर देउरालीमा कार्कीको पुर्ख्यौली घर छ । हाल उनको निवास काठमाडौंको हात्तीगौंडामा छ ।
गत साल जेठमा मन्त्री कार्कीलाई पत्नीशोक परेको थियो । रत्नराय क्याम्पसकी उपप्राध्यापक रहेकी आबु राणाको निधन गत साल जेठमा भएको हो, उनी क्यान्सरबाट पीडित थिइन् । कार्कीले पनि केही समय रत्नराय क्याम्पसमा प्राध्यापन गरेका थिए ।
यसअघि उनको पहिली पत्नीसँग सम्बन्ध बिच्छेद भएपछि कार्कीले राणासँग दास्रो बिहे गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासंग पारिवारिक नाता
कार्कीको पारिवारिक नाता राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्म जोडिएको छ । कांग्रेस नेता कार्की राष्ट्रपति विद्यादेवी भण्डारीका दाजु हुन् ।
राष्ट्रपतिकी आमा मिथिला पाण्डे ज्ञानेन्द्र कार्कीकी फुपूकी छोरी हुन् । राजनीतिक रुपमा सधैं अलग लाइनमा रहे पनि भण्डारी र कार्कीबीच दाजु बहिनीका रुपमा सधैँ हार्दिक सम्बन्ध रहेको छ ।
प्रधानमन्त्री देउवा र अर्थमन्त्री कार्की दुबैजना राणा परिवारका ज्वाइँ हुन् । कार्कीपत्नी आबु राणाका लागि उनका माइतीले बर्दियामा प्रशस्त जमीन दाइजो दिएका थिए । बर्दियामै देउवाका ससुुरालीको पनि प्रशस्त जग्गा जमीन छ ।
प्रधानमन्त्री देउवाकी सासू प्रतिभा राणाले बर्दियाबाट राजनीति गरिन् भने सालो प्रमोद राणा पनि बर्दियालाई नै आधार बनाइरहेका छन् । प्रतिभा हाल जापानको राजदूत छिन् । देउवाका ससुराली र कार्कीका ससुराली निकट सम्बन्धका परिवार हुन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्