बाबु–छोरा, ससुरा–बुहारी, दाजु–भाई भिडन्तमा
यसअघि सल्यानमा बाबुछोरा फरक–फरक पार्टीबाट एउटै पदको उम्मेद्वार बनेको समाचार हामीले पढिसकेका छौँ । गुल्मीमा पनि यस्तै खाले दृष्य देखिएको छ । गुल्मीमा एउटै पदमा एउटै घरका ससुरा–बुहारी फरक फरक पार्टीबाट उम्मेदवार बनेपछि चुनावी रौनकता फरक खालको बनेको छ ।
इस्मा गाउँपालिकाको वडा नम्बर ६ साविकको अमरपुरमा नेकपा माओवादी केन्द्रले ससुरा हुमबहादुर सार्कीलाई वडा सदस्यको उम्मेद्वार बनाएको छ भने, कांग्रेसले उनकी बुहारी हुमकला सार्कीलाई वडा सदस्यमै उम्मेद्वार बनाएको छ ।
अर्कातर्फ गुल्मीकै मुसीकोट नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा कांग्रेसबाट यमबहादुर खत्री उम्मेद्वार रहेका छन् भने, एमालेमा उनका भाइ ओमबहादुर खत्री वडामा अध्यक्षका उम्मद्वार बनेका छन् ।
श्रीमती उम्मेद्वार बनेपछी चुनाव बहिस्कारमा लागेका श्रीमानले के गर्लान
स्थानीय चुनावमा परिवारका सदस्य फरक फरक पार्टीबाट उम्मेदवार बनेको समाचार अब नयाँ रहेन । रोल्पाको सुकिदह गाउँपालिकामा स्थानीय तहको चुनाव बहिस्कार र असफल पार्न लागेका श्रीमानलाई चुनौति दिदै श्रीमती सत्तारुढ नेपाली कांग्रेसबाट उम्मेद्वार बनेपछि रमाइलो चर्चा शुरु भएको छ ।
बिप्लव नेतृत्वको नेकपा माओवादीले चुनाव बहिस्कार गरेको छ । सो पार्टीको शिक्षक संगठनका जिल्ला नेता नेत्र वलीकी पत्नी अमृताकुमारी केसी भने कांग्रेसबाट सुकिदह गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बनेकी छन् ।
अब मतदाता प्रश्न गर्न थालेका छन–‘वलीले पार्टी निर्देशन मानेर चुनाव बहिस्कार गर्लान् कि अर्धाङ्गीनी अमृतालाई जिताउन मतदान गर्लान् ? वली विप्लव निकट शिक्षक संगठनको जिल्ला सदस्य छन् ।
अमृता केसीका ससुरा शेरबहादुर वली भने कांग्रेस तर्फबाट पूर्व वडा अध्यक्ष बनेका थिए । अमृता स्नातक पहिलो वर्षकी विद्यार्थी हुन् तर, उनी राजनीतिक पृष्ठभूमिकी भने होइनन् ।
सुकिदहको चुनाव यति कारणले मात्रै चर्चित भएको पनि होइन । अझ रोचक कुरा चाहिँ के छ भने, अमृताका बुवा लिलाधर खत्री भने एमाले समर्थक हुन् ।
यो पनि पढ्नुहोस
फेसबुकबाट कमेन्ट गर्नुहोस्