सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चिनियाँ कम्पनी गेजुवामाथी बाबुराम भट्टराईको हमला

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलबिद्युत आयोजना बिना प्रतिस्पर्धा चीनको गेजुवा ग्रुप अफ कम्पनीलाई दिनुमा भ्रष्टाचार र कमिसनको खेल भएको बताएका छन् ।

नयाँ शक्ति पार्टीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले बुढीगण्डकी जलबिद्युत आयोजना निजी कम्पनीलाई बुझाएर सरकारी पदाधिकारीहरुले मोटो रकम कमिसन लिएको आशंका गरेका छन ।

भट्टराईले भने–‘बिना प्रतिस्पर्धा सुटुक्क निजी कम्पनीलाई बुढीगण्डकी जलविद्युत आयोजना सुम्पिइएको छ, यो भ्रष्टाचार र कमिसनको खेल हो ।’ गत जेठ ९ गते सरकारले जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा गेजुवालाई दिईएको हो ।

मन्त्रिपरिषदबाट निर्णय नगराई सिधै सम्झौता गरिएको भन्दै भट्टराईले यसमा आपत्ति जनाएका छन् । भट्टराईले यो निर्णय लोकतन्त्र बिपरितको निर्णय भएको बताएका छन् । उनले भने–‘जनतालाई थाहा नदिई गुपचुप ढंगले निर्माणको जिम्मा लगाइयो, यो लोकतन्त्र बिपरितको काम हो ।’

साथै उनले यसलाई भ्रष्टाचार र कमिसनका आडमा हुने निर्णयको नयाँ श्रृंखलाका रुपमा समेत चित्रित गरेका छन् । सरकारले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनालाई इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्रयाक्ट विथ फाइनान्स (इपीसीएफ) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिएको छ ।

सरकारले यही जेठ १० गते चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई बुढीगण्डकी निर्माण जिम्मा दिएको थियो । तत्कालीन प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्री जनार्दन शर्माको उपस्थितिमा निर्माण सम्झौतामा हस्ताक्षर भएको थियो ।

बुढिगण्डकी गेजुवालाई दिँदा बाबुरामको विरोध किन ?

डा. भट्टराईले भनेका छन्–‘विदेशी कम्पनीलाई ब्ल्याङ्क चेक दिएजसरी दिनु राष्ट्रिय गौरवको आयोजनाको मर्म र भावना विपरीत छ, यसले फेरि एकपटक नेपाली आफैंले ठूला विकासका आयोजनाहरु आफैं विकास गर्न सक्छौं भन्ने भावनामा तुषारापात भएको छ ।’

१२०० मेगावाट क्षमताको जलासययुक्त यो आयोजनाबाट वार्षिक ४ हजार २५० गिगावाट आवर अर्थात ४२५ करोड यूनिट बिजुली उत्पादन गर्न सकिने भट्टराईको भनाइ छ ।

आफूले प्रधानमन्त्री भएका बेला बुढीगण्डकी जलविद्युत आयोजना विकास समिति गठन गरेको भन्दै डा. भट्टराईले यस आयोजनालाई सम्पन्न गर्न २ खर्ब ६० अर्ब नेपाली रुपैयाँ लाग्ने बताएका छन् ।

आयोजना क्षेत्रमा पोखराको फेवाताल भन्दा १५ गुणा ठूलो जलाशय बन्ने भएकाले उक्त ठाउँलाई एउटा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने सम्भावना भट्टराईले औंल्याइएका छन् ।

चिनियाँ कम्पनी गेजुवा माथि बाबुराम भट्टराईको प्रश्न

नयाँशक्ति पार्टीले चिनियाँ कम्पनी गेजुवा ग्रुपको कार्यक्षमता र विश्वसनीयतामाथि समेत प्रश्न उठाएको छ । ६० मेगावाटको त्रिशुली थ्री ‘ए’ को कार्य समयमा गर्न नसकेको, चिलिमे जलविद्युत आयोजनाको निर्माण कार्य गर्न नसकेर ठेक्का तोडी धरौटी रकम जफत गर्नुपरेको र माथिल्लो साञ्जेन जलविद्युत आयोजनामा कालोसूचीमा परेकाले गेजुवालाई नै निर्माणको जिम्मा दिनु गलत हुने भट्टराईको ठहर छ ।

साथै गेजुवाले नै ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना निर्माण गर्न १० वर्षभन्दा बढी लगाएको भट्टराईको भनाइ छ । यसमा एक अर्ब १६ करोड कर छली गरेको पनि नयाँशक्तिको आरोप छ ।

‘३० मेगावाटको चमेलिया जस्तो सानो आयोजनासमेत समयमा निर्माण गर्न नसक्ने कम्पनीले १२०० मेगावाटको आयोजना बनाउनेछ भनेर विश्वास कसरी गर्ने ?,’ भट्टराईले प्रश्न गर्दै भनेका छन, ‘यसर्थ यदि यो आयोजना गेजुवालाई दिइएमा लामो समय होल्ड हुने खतरा छर्लङ्ग देखिन्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्