यस्तो छ, मतपत्र च्यातिएकोबारे आयुक्तको भनाई
प्रमुख निर्वाचन आयुक्त यादवले चितवनको भरतपुरमा मतपत्र च्यातिएको घटनाप्रति दुःख व्यक्त गरेका छन । उनले यो घटनामा निर्वाचन आयोगले सरकारको पक्ष लिएको भन्ने आरोप कपोकल्पित र निराधार रहेको स्पष्ट पारेका छन ।
निर्वाचन ऐनलाई टेकेर पुनः निर्वाचन गराउने निर्णय आयोगले गरेको प्रमुख आयुक्त यादवले जानकारी दिए ।
‘हामीले निर्वाचन ऐनलाई टेकेर निर्णय गरेका छौं,’ उनले भने, ‘यो कुरा अदालतमा गइसकेको छ, अदालतले सुनाउने फैसला निर्वाचन आयोगका लागि शिरोधार्य हुनेछ ।’
असार १४ को चुनाव कुनै पनि हालतमा सर्दैनः यादव
निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादवले पछिल्लो पटक घोषणा भएको असार १४ गतेको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका छन् ।
आफ्नो गृहनगर सप्तरी आएका डा. यादवले सदरमुकाम राजविराजमा आइतबार आयोजित कार्यक्रममा असार १४ गते नै निर्वाचन हुनेमा जनता आशावादी रहेको बताए ।
आफ्नो जिल्लामा आएलगत्तै कालो झण्डाको सामना गरेका उनले भने, ‘असार १४ गतेको निर्वाचनबारे जनतालाई कुनै किसिमको भ्रम छैन, गुणन–भागा गर्नेलाई नै बढी भ्रम रहेको छ ।’
स्थानीय निकायको निर्वाचनबारे सरोकारवालाहरुसँग गरिएको अन्र्तक्रिया कार्यक्रममा उनले निर्वाचनका बारेमा कुनै आशंका नगर्न सबैलाई आग्रह गरेका छन ।
०६४ साल र ०७० सालको संविधानसभा निर्वाचनमा पनि निर्वाचन हुँदैन भनेर भ्रम छरिए पनि चुनाव सफल भएको स्मरण गर्दै उनले बैशाख ३१ गतेको पहिलो चरणको स्थानीय चुनाव पनि धेरैको आशंकाबीच सफल भएको बताए ।
उम्मेदवारको प्रश्न–टोपी र टी–सर्ट लगाउन किन नपाइने ?
कार्यक्रममा उपस्थित फोरम लोकतान्त्रिकबाट राजविराज नगरपालिकाको उम्मेद्वार शैलेश चौधरीले पहिलो चरणको निर्वाचनमा चुनाव चिन्ह अंकित टि–सर्ट, टोपीहरु प्रयोग गर्न छुट दिइए पनि दोस्रो चरणमा किन नदिने ? भन्दै प्रश्न गरेका थिए ।
चौधरीले सुरक्षा अवस्थाबारे पनि प्रमुख आयुक्तसँग जिज्ञासा राखेका थिए । पहिलो चरणको चुनावमा पनि चुनाव चिह्न अंकित टोपी र टिसर्ट प्रयोग नगर्न निर्वाचन आयोगले निर्देशन दिएको तर, उम्मेदवारहरुले पालना नगरेको प्रमुख आयुक्त यादवले जवाफ दिए ।
निर्वाचन आयोगको निर्देशन अटेर गर्नेहरुलाई स्पष्टीकरण सोधिएको उनले जानकारी दिएका छन । आचारसंहिता पालना गर्न सबै उम्मेदवारहरुलाई आग्रह गर्दै यादवले भने, ‘सबैले पालना गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्