आफ्नै छोरी बलत्कार गर्ने बाबु प्रहरी खोरमा
पाँचथर च्याङथापुमा १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतका अनुसार पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको हो ।
पीडितले गत जेठ २२ गते बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएकी थिइन् । बाबुले छोरीलाई विगतदेखि नै पटक–पटक बलात्कार गर्दै आएको पीडितले बताएको प्रहरीले जनाएको छ ।
पीडितकी आमाले पाँच वर्षअघि दोस्रो विवाह गरेपछि घरमा बाबु छोरी मात्रै बस्दै आएका थिए । बाबुले पटकपटक बलात्कार गर्दै आएको भएपनि पीडित बालिकाले बाबुको डर तथा लाजले आफन्त, छिमेकी तथा प्रहरीलाई खबर गरेकी थिइनन् ।
तर, पछिल्लो पटक मादकपदार्थ सेवन गरी आएका बाबुले बलात्कार गर्नुका साथै धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । टाउकोमा चोट लागेकी पीडित बालिकाले पीडा सहन नसकेर आफन्त तथा छिमेकीको सहयोगमा उजुरी गरेको प्रहरीले बताएको छ ।
पीडित बालिकाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाबुलाई हाडनाता करणीसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्