देउवाद्वारा प्रचण्ड विरुद्ध आयोगमा उजुरी
राजनितिमा स्थायी सत्रु र स्थायी मित्र हुँदैन भन्ने कुरा पुनः चरितार्थ भएको छ । राजनितिक वृत्तमा एउटा नयाँ तरङ्ग फैलाउनु भएको छ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले । उहाँले द्वन्द्वकालीन घटनालाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराउन पार्टीको डडेल्धुरा जिल्ला कार्य समितिलाई निर्देशन दिनुभएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराको बिहीबार बसेको बैठकले शान्ति समिति डडेल्धुरा मार्फत आयोगमा दाहाल विरुद्ध देउवाका तर्फबाट उजुरी दर्ता भएको हो । सभापति देउवाकै निर्देशनमा आयोगमा उजुरी दर्ता गराइएको डडेल्धुरा कांग्रेसले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा भएको १० वर्षे द्वन्द्वकालको क्रममा कांग्रेसका थुप्रै निर्दोष कार्यकर्ता मारिएको, राजनीतिक पूर्वाग्रहमा अंगभंग भएका, लखेटिएका बेपत्ता पारिएका लगायत भौतिक सम्पत्ति र संरचनाहरु ध्वस्त गराएको भन्दै पीडितलाई न्याय दिन उजुरीमा माग गरिएको छ ।
दाहालको नेतृत्वमा द्वन्द्वकालको फाइदा उठाउँदै जनयुद्ध आचारसंहिता विपरीत जनता र जनताको सेवकको हत्या अपहरण लगायतका अमानवीय कार्य गरेकाले न्यायका लागि आयोगमा उजुरी दर्ता गराएको कांग्रेस जिल्ला कार्य समितिका सचिव लक्ष्मीप्रसाद अवस्थीले बताउनुभएको छ । उहाँले अक्षम्य अपराधको निष्पक्ष छानविन हुनुपर्ने बताउनुभयो ।
उजुरीमा २०६० भदौमा कैलाली जिल्लाको पहलमानपुर नजिकै अमखैया जंगल नजिकै देउवा चढेको गाडीमा ज्यान लिने मनसायले गोली प्रहार गरिएको घटनालाई प्राथामीकताका साथ उल्लेख गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्