बिखण्डनवादी राउतसँग महन्थको गोप्य वार्ता
सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले बिखण्डनवादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् । यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको र त्यसमा सहकार्यको सम्भावना खोजिएको पुष्टि दुवै पक्षले गरेका छन् ।
स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोले भने–‘संयोजक राउतसँग ठाकुर मात्र होइन, नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष एवं उप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतसँग पनि सहकार्यको प्रस्ताव राख्दै धेरैपटक औपचारिक (लिखित) प्रस्तावसमेत पठाएका छौं ।’
चुनावका क्रममा मधेसवादी दलबीच बिखण्डनवादी नेता राउतलाई भेट्ने र चुनावमा पकड मजबुत गराउने प्रतिस्पर्धा नै रहेको सम्बद्ध स्रोतले बताएको छ । स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक महतोले भने–‘हामीले राजपासँग तपाईंहरू मधेसको मुद्दामा क्लियर भएर आउनुहोस, हामी एक भएर अघि बढौं भन्ने प्रस्ताव गरेका छौं । उहाँहरू सत्ता स्वार्थका कारण क्लियर हुनुहुन्न ।’
एक प्रश्नको उत्तरमा महतोले राजपा मात्र नभई फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा राजपा जन्मनुभन्दा अघि राजपासम्बद्ध ६ मधेसवादी दललाई समेत पद र पैसा त्यागी स्वतन्त्र भएर मधेसको मुद्दामा सहकार्य गर्न आग्रह गरेको बताएका छन ।
महतोले भने–‘मधेसवादी दलले सत्ता र पैसाको मोहमा हामीलाई स्पष्ट जवाफ दिन सकेका छैनन् । उनीहरू राज्य लिएर देश लिने भन्छन, हामी राज्य होइन, देश नै लिनुपर्छ भन्छौं ।’
राजपाका उपाध्यक्ष वृषेशचन्द्र लालले आफूहरूको राउतसँग कुनै गम्भीर र निर्णायक वार्ता नभएको बताउँदै भने–‘विचार नै फरक भएका शक्तिसँग हुने वार्ताको कुनै अर्थ रहँदैन ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्