सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रचण्डको नयाँ खुलासा, राजा वीरेन्द्रको प्रशंसा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै बेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन् ।

‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो । वीरेन्द्रसँग पनि कसरी जाने भन्ने छलफल भइरहेको बेला १९ जेठमा उनको परिवारकै हत्या हुन पुग्यो,’ पत्रकार उजिर मगरद्वारा लिखित पुस्तक ‘अंश’को मंगलबार लोकार्पण गर्दै दाहालले भने, ‘वीरेन्द्रको वंश विनाशपछि वार्ताको कडी टुट्यो, एउटा असली राजा र नाटकीय रूपमा आएका राजाले सोच्ने तरिका फरक हुँदोरहेछ । एउटा विद्रोही नेताको नाताले मैले त्यस्तै अनुभूति गरेँ ।’

दाहालले राजकुमार दिक्पालको कथाको प्रसंग सुनाउँदै सक्कली र नक्कली राजाले सोच्ने तरिकामा फरक हुने विचार व्यक्त गरे । नक्कली राजा (ज्ञानेन्द्र शाह) ले परिस्थिति आफ्नो हातमा राख्न नसक्दा यस्तो अवस्था आएको उनको भनाइ छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई आएको मौका समाउन नसक्दा दिल्लीमा १२ बुुँदे समझदारी भएको उनले खुलासा गरेका छन् ।

‘१२ बुँदे समझदारी यता वा उताबाट भए पनि हुनैपर्ने थियो । त्यो जरुरी भइसकेको पनि थियो,’ दाहालले भने, ‘ज्ञानेन्द्रले सकेनन् । राजाको हातमा आएको मौकासमेत उनले समाउन सकेनन् र १२ बुँदे समझदारी दिल्लीमा बन्न पुग्यो ।’

जनयुद्ध सुरुवात गर्दा र शान्तिप्रक्रियामा आउने वातावरण राष्ट्रिय अवस्थाले मात्र नभई अन्र्तराष्ट्रिय परिस्थितिले पनि निर्माण गरेको दाहालले बताए ।

‘युद्ध गर्ने र शान्तिप्रक्रियामा आउने वातावरण विल्कुल मनोगत रोमान्सका आधारमा मात्र भएको थिएन,’ उनले भने, ‘नेपाली समाजको विकास प्रक्रियाको आवश्यकता र अन्र्तराष्ट्रिय परिस्थिति सबैको वस्तुवादी विश्लेषणका आधारमा भएका थिए ।’

१२ बुँदे समझदारीको वातावरण रोल्पामै

७ मंसिर ०६२ मा दिल्लीमा तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीबीचमा १२ बुँदे समझदारी भएको थियो । दिल्लीमा भएको उक्त सम्झौताको स्वदेशभित्र सम्झौता नगरी बाह्य मुलुकमा गरेको भन्दै बेलाबखत आलोचना हुँदै आएको छ । तर, दाहालले १२ बुँदे समझदारी दिल्लीमा भए पनि त्यसको वातावरण भने रोल्पाको लोसेवाङ बैठकमै भएको दाबी गरेका छन ।

‘रोल्पाको लोसेवाङमा दुई दिन वार्ता गरेपछि १२ बुँदे समझदारी गर्ने रोल त्यसले निर्माण गरेको हो,’ दाहालले भने, ‘कसैले माने वा नमाने पनि यो एउटा हिस्टोरिकल फेनामेना हो, यसैका कारण गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशिता जस्ता मुद्दा नेपालमा सम्भव भएको छ । यो सामान्य परिघटना होइन, आलोचना गर्नेलाई वस्तुवादी भएर हिस्टोरिकल पर्सपेक्टिभमा रहेर गरियोस् ।’

दलहरूले आँट नगरेपछि राजासँगै संवाद

शान्तिप्रक्रियाको सुरुवात गर्ने र संविधानसभाको निर्वाचन गर्ने विषयमा सिलगुढी बैठकमा अरू दलका नेताहरूलाई प्रस्ताव गरे पनि उनीहरूले आँट नगरेपछि राजासँगै संवादको प्रक्रिया सुरु गरेको दाहालले खुलासा गरे ।

‘सिलगुढी वार्ताको प्रस्तावमा राजालाई मनाउन नसकेर दलहरू सक्षम नदेखिएपछि आफूहरूले भरिया होइन, सीधै मालिकसँग वार्ता गर्ने प्रस्ताव राखेका थियौँ, त्यो निकै चर्चामा पनि रह्यो,’ दाहालको भनाइ थियो, ‘राजालाई मनाउन दलहरू सक्षम नदेखिएपछि हामीले सीधै मालिकसँग वार्ता गर्ने प्रस्ताव राखेका थियौँ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्