सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ज्यानमारा मुग्लिनको बाटो, २ प्रहरीको मृत्यु, २ बेपत्ता

नारायणगढ–मुग्लिन सडक खण्डको इच्छाकामना–६ तीनकिलोमा पहिरोले प्रहरी भ्यान र एउटा ट्रक बगाउँदा दुई जना प्रहरीको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

बिहीबार राति करिब साढे ९ बजेतिर खसेको पहिरोले प्रहरी भ्यान र ट्रक बगाउँदा असई निश्चल तामाङ र प्रहरी जवान चालक निश्चल कुमार मास्केको मृत्यु भएको छ । त्यस्तै प्रहरी जवान सन्दिप कार्की र लिलबहादुर चेपाङ बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।

घाइते ट्रक चालक रामकुमार लामा र सहचालक सिजन लामाको उद्धार गरी उपचारका लागि आबुखैरेनी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी दिपक थापाले जानकारी दिएका छन । पहिरोमा दुई नाल बन्दुक र १०० राउण्ड गोली पनि हराएको छ ।

कालीखोला नजिकै गए राति खसेको पहिरोले एउटा प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुरेको छ । त्रिशूली नदीमा ट्रकको केही भाग देखिएको छ । ट्रकका सहयोगी चालकलाई उद्धार गरी उपचारका लागि तनहुँ पठाइएको छ । चालक भने सकुशल रहेको थापाको भनाइ छ ।

रातिदेखि नै पहिरो पन्छाउने क्रम जारी रहेको छ । सो सडकखण्डको कालीखोलाको मुखमा राति ९ः४० बजे पहिरो खसेपछि प्रहरी पहिरो पन्छाउन पुगेका थिए । सो ठाउँको पहिरो पन्छाउन नपाउँदै चारकिलोमा पहिरो खसेको थियो ।

सो पहिरो पन्छाउन कठिन भएपछि फर्कने क्रममा मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोला नपुग्दै एकाएक पहिरो खसेर गाडी पुरिएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताएका छन ।

सो ठाउँमा पहिलो पटक पहिरो खसेको हो । सो ठाउँ र चारकिलोमा ठूला पहिरा खसेका छन् । घटनास्थलमा राति नै प्रजिअ नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख दीपक थापासहित सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरु पुगेका छन् ।

पहिरोका कारण दुवैतर्फ सवारीको लाम लागेको छ । पहिरोको बीचमा पनि गाडी रहेकाले यात्रु भयभित भएका छन् । सो सडक दिउँसो बन्द गरेर काम गर्ने हुँदा रातको समयमा सवारी चाप बढ्ने गर्दछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्