पार्लरबाट घर फर्कीँदा ब्युटिसियन बलात्कृत
महोत्तरीको औरही गाउँपालिका–२ मा एक युवतीलाई सामूहिक बलात्कार गरेका चारजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिल साह, २० वर्षीय अनिकेत यादव, २१ वर्षीय रमेश पञ्जियार र २० वर्षीय सुरेश यादव रहेका छन ।
गत जेठ २८ गते राति करिब ८ बजेको समयमा औरही बजारबाट फुलबरिया गाउँतिर एक्लै जाँदै गरेकी २१ वर्षीया एक युवतीलाई औरही बजारदेखि ९०० मिटर पर आँपको बगैँचामा ढुकेर बसेका चारैजना युवाले रोकेर खेतमा लगी पालैपालो जबर्जस्ती करणी गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताएका छन ।
स्थानीय औरही बजारमा ब्युटी पार्लर चलाउँदै आएकी ब्युटिसियन युवती सो दिन आफ्नो पसल बन्द गरी घरतर्फ जाँदै गर्दा बलत्कारको सिकार बनेकी हुन । ब्युटिसियन युवतीलाई बलत्कार गरेकाहरुलाई हदैसम्म कारबाही गर्नुपर्ने स्थानीय ब्यबसायीहरुले माग गरेका छन ।
सामूहिक बलात्कारमा संलग्न युवा सुनिल साहलाई प्रहरीले घटनाकै राति करिब १० बजे समातेको थियो भने अन्य तीनजना युवा फरार रहँदै आएकामा बिहीबार उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक लम्सालले बताएका छन ।
सामूहिक बलात्कारमा संलग्न चारैजना युवालाई महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखी जबरजस्ती करणी मुद्दा चलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक लम्सालले बताएका छन ।
घटना घटे लगत्तै प्रहरीले उद्धार गरेको पीडित युवतीलाई स्वास्थ्य उपचार गराई अभिभावकको जिम्मा लगाइएको र उनको अवस्था ठीक रहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्