हरेक मतदान केन्द्रमा सेनाको बम डिस्पोजल टोली
बुधबार हुने स्थानीय तहको निर्वाचनमा हुनसक्ने अप्रिय घटनालाई मध्यजनर गरी प्रदेश नम्बर ७ का सबै मतदान केन्द्रमा बम डिस्पोजल टोलीसहितको सुरक्षा व्यवस्था मिलाइएको क्षेत्रीय प्रशासक शिशिरकुमार ढुंगानाले बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षाको बस्तुस्थितिका बारेमा जानकारी गराउन डोटीको दिपायलमा गरिएको पत्रकार सम्मेलनमा क्षेत्रीय प्रशासक ढुङ्गानाले भने, ‘मतदान, मतपेटिका ढुवानी, मतगणना र बिजय उत्सवलाई समेत ध्यानमा राखेर हामीले सुरक्षा योजना बनाएका छौं’ ।
प्रत्येक स्थानीय तहमा एक बम डिस्पोजल टोलीको व्यवस्था गरिएको जानकारी दिँदै उनले भने, ‘प्रदेश भरिमा ९० बम डिस्पोजल टोली, एक माईन डिटेक्टिभ बहान र नेपाली सेनाको रेञ्जर फोर्स पनि तयारी अवस्थामा छ ।’
‘निर्वाचन सुरक्षाका कारण सोमवार बिहानै देखि अन्र्तराष्ट्रिय सिमाना ७२ घण्टाका लागि शील गरेका छौं’ उनले भने ‘आन्तरिक (प्रदेश–प्रदेशबीचको सिमाना) सिमाना पनि शील गर्नका लागि प्रदेश नं. ६ को सुरक्षा संयन्त्रसँग छलफल भइरहेको छ ।’
प्रशासक ढुंगानाले निर्वाचनका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको जनाए । ‘बिगतका अनुभवहरु र सुरक्षा अवस्थालाई ध्यान दिँदै यस प्रदेशका तीन सय १८ मतदान केन्द्रहरुलाई अति संवेदनशील र तीन सय ३७ केन्द्रलाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा व्यवस्था मिलाएका छौं’ पत्रकार सम्मेलनमा ढुंगानाले भने ।
एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ७ नं. प्रदेशमा रहेका ८८ स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि २२ हजार ७०५ सुरक्षाकर्मी परिचालन गरिएको ढुङ्गानाले जानकारी दिएका छन ।
५ हजार १ सय नेपाली सेना, ८ हजार २७८ नेपाल प्रहरी, ६ हजार ४७० म्यादी प्रहरी र २ हजार ६८८ साजै १२० जना राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी सुदूरपश्चिममा परिचालन गरिएको प्रशासक ढुंगानाले जानकारी दिए ।
८८ स्थानीयतहको चुनाव सम्पन्न गर्नका लागि एक हजार एक सय ९ मतदान स्थल र एक हजार सात सय ८१ मतदान केन्द्रमा मतदान हुनेछ । यस प्रदेशमा १३ लाख नौ हजार पाँच सय ४६ मतदाता रहेको ढुङ्गानाले जानकारी दिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्