बर्षासँगै आएको बाढीले रुकुममा घरबारी बगायो
लगातारको बर्षापछि बाढी आउँदा रुकुमका बिभिन्न ठाउँमा ठुलो क्षति पुगेको छ । आइतवार राती आएको बाढीले रुकुमको आठबीसकोट नगरपालिका वडा नं ९ राडि ज्युलामा रहेको राडिज्युला शिक्षा क्याम्पसको निर्माणाधिन अवस्थामा रहेको भवन पुरिएको छ ।
राति ११ बजेदेखि ३ बजेसम्मको लगातारको वर्षासँगै आएको बाढी पस्दा क्याम्पसको खेलमैदान र भवनको आधा भाग बाढिले पुरेको हो । त्यस्तै सोही नगरपालिका वडा नं ९ राडिपाखा र राडिबगरका वस्तीमा बाढी पसेपछि स्थानीयहरु अर्कै ठाउँमा सरेका छन् ।
स्थानीय कालबहादुर खत्री, भिमबहादुर बटाला, कृष्णबहादुर बटाला, नरबहादुर खत्री, प्रेमबहादुर बटाला, जनक बटाला, मन्सुर खत्री, अशोक के.सि., जयबहादुर खत्री र बिजय बटालाको घर बाढीले पुरेको छ ।
बाढी प्रभावितहरु छिमेकीको घरमा शरण लिएर बसेका छन् । आफूहरु रातभर जागाराम बसेको र राती नै बस्तुभाउहरुलाई अनेत्र सारेकोले धनजनको क्षति नभएको बाढी प्रभावित जनक वटालाले वताएका छन ।
बाढीले खेतमा लगाएको स्याहर्नै लागेको मकै र झण्डै सात रोपनी खेतको लागि राखिएको धानको विउ राखेको व्याड समेत पुरिदिएको छ । बाढीले वस्तिका ४० घरधुरिको लागि खानेपानी आपूर्ति गर्ने पाइप समेत बगाउँदा वस्तिमा खानेपानीको आपूर्ति पनि बन्द भएको छ ।
रुकुमकै जहारी खोलामा आएको बाढीले निर्माणाधिन अवस्थामा रहेको चौरजहारी टार सिँचाइ आयोजनाको काम पनि अवरुद्ध भएको छ । बाढीले बालुवा, गिट्टी, सरिया बगाएको छ भने निर्माण गरिएको काम क्षतबिक्षत बनाइदिएको छ ।
यसैबीच, वर्षापछि आएको पहिरोले सडक पुरेपछि चौरजहारी–खोलागाउँ र खोलागाउँ–खलंगा सडकखण्ड पनि अवरुद्ध भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्