सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

काठमाण्डौमा सार्बजनिक बसका लागी बिशेष लेन

सरकारले सार्वजनिक बस सेवा सञ्चालनका लागि रिंगरोड र माइतीघर–सूर्यबिनायक सडकमा छुट्टै लेन तोक्ने तयारी गरेको छ । पहिलो चरणमा चक्रपथ अन्तरगतको कलंकी–कोटेश्वर–कलंकी खण्डको विस्तार सकिएपछि ‘र्यापिड बस ट्रान्जिट’ (बसको विशेष लेन) को ब्यवस्था गर्ने तयारी गरिएको हो ।

माइतीघर–कोटेश्वर–सूर्यबिनायक खण्डमा भने रोड मार्किङ चुस्त गरेर यो किसिमको ब्यवस्था लागू गर्ने तयारी गरिएको छ । यो ब्यवस्था लागू भएमा सार्वजनिक बसहरुले गुड्न छुट्टै लेन पाउनेछन् । त्यसमा निजी सवारी साधनहरु गुड्न पाउने छैनन् ।

यस खालको ब्यवस्था गर्नेबारे सरकारले प्राविधिक सम्भाब्यता अध्ययन गरिरहेको छ । यी दुई सडकमा आवतजावत गर्न दुईतर्फी लेनमा सार्वजनिक बस मात्र चल्न पाउने गरी ब्यवस्था गर्ने योजना बनाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित यातायात ब्यवस्था विभाग र सडक विभागले चक्रपथमा बसका लागि छुट्टै लेन तोक्न गृहकार्य गरिरहेका हुन् ।

मन्त्रालयका सचिव धनबहादुर तामाङले पूर्वाधार पुग्ने बाटोमा सार्वजनिक बसका लागि छुट्टै लेन तोक्न सकिए लेन अनुशासन नमान्दा उत्पन्न हुने ट्राफिक समस्या हट्ने बताएका छन ।

‘सार्वजनिक सवारीको प्रयोगमा नागरिकलाई आकर्षित गर्न पनि र्यापिड बस ट्रान्जिट आवश्यक देखिएको छ । यसले सार्वजनिक सवारीको महत्व बढ्छ भने विभिन्न सवारीजन्य बिकृतिमा पनि कमी आउँछ,’ सचिव गुरुङले भने ।

सार्बजनिक बसको लेन तोक्न पूर्वाधार बनाइँदै

यातायात विभागका महानिर्देशक रुपनारायण भट्टराईले सडक पूर्वाधार विकास गर्दै र्यापिड बस ट्रान्जिट सिस्टम लागू गर्न गृहकार्य भइरहेको बताएका छन ।

‘रिंगरोेडमा सडक र यसका लागि आवश्य पूर्वाधार नै बन्न बाँकी छ । पूर्वाधार बनाएर बसका लागि छुट्टै लेन तोक्नेबारे छलफल भइरहेको छ,’ भट्टराईले भने, ‘थापाथली–सूर्यविनायक खण्डबाट यसको सुरुवात हुनसक्छ । तर, निर्णय भने हुन बाँकी छ । तयारी सकिएपछि हामी यो ब्यवस्था लागू गर्छौं ।’

उनले सडक विभागलाई बसका लागि छुट्टै लेन तोक्न रोड मार्किङ चुस्त बनाउन अनुरोध गरिएको बताए । यस्तो विशेष लेनमा सुरुवातमा सवारी चलाउने अधिकतम् गति तोक्नुपर्छ ।

त्यसपछि बसहरुलाई यसबारे जानकारी गराएर मात्रै यो ब्यवस्था प्रभावकारी ढंगले लागू गर्न सकिनेछ । अहिले फराकिला बाटोमा पनि सार्वजनिक सवारीसमेत घन्टौँ जाममा बस्नुपर्ने बाध्यता घटाउन यसले सहयोग पुग्ने अपेक्षा छ ।

त्यसो भएमा सार्वजनिक बस प्रयोग गर्ने यात्रुको संख्या बढ्ने विश्वास सरकारको छ । सँगै लेन अनुशासन नमान्दा हुने दुर्घटनामा पनि कमी आउने महानिर्देशक भट्टराई बताउँछन् ।

ट्राफिक लाइटहरुको पनि ब्यवस्था गरेर रिंगरोड र माइतिघर–कोटेश्वर–सूर्यविनायक खण्डमा र्यापीड बस ट्रान्जिट लागू गर्ने सरकारी योजना छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्