पोखरामा जमिन भाँसीयो, पहिरोले घर पुर्यो
वर्षाका कारण पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ वाटुलेचौरको मैदान वडा कार्यालय नजिक र पोखरा ३ नदीपुरको जमिनमा भ्वाङ परेको छ । भ्वाङ परेको ठाउँमा बिजुलीको पोल समेत ढल्किएको छ ।
ट्रास्फर्मर राखिएका दुई पोल मध्ये एक ढल्ने अवस्थामा छ भने अर्को ढल्किएको छ । पोल ढल्किँदा ट्रासमिटरमा समेत क्षति पुगेकाले बाटुलेचौरको केही क्षेत्रमा विद्युत अवरुद्ध बनेको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्यले भ्वाङ पुर्नका लागि महानगरपालिकामा पहल भएको र विद्युत बनाउन पनि विद्युत कार्यालयलाई जानकारी दिइसकेको बताएका छन ।
उनले पोखराको खानेपानीको पाइप पनि भ्वाङ परेकै ठाउँमा भएका कारण पोल गाड्न अप्ठेरो भएको बताएका छन ।
सोमबार मध्यरातमा गएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका–२४ वनपालेका डिल्लीराम सुवेदीको घर पुरिएको छ । घरको पछिल्लो भागबाट पहिरो घरभित्र पस्दा घरधनी डिल्लीराम सुवेदी घाइते भएका छन् ।
उनका श्रीमती खरिका, छोरा दीपक, बुहारी लक्ष्मी र नातिनी युनिसा भागेर ज्यान बचाउन सफल भएका छन । घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा एवम् भाडावर्तन पुरिएर नष्ट भएको छ ।
त्यसै गरि वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकाको नयाँपुलमा पहिरोले सडक भत्काउँदा एकतर्फी मात्रै सडक सञ्चालन भइरहेको प्रहरीले जानकारी दिएको छ ।
त्यसै गरी गए राति भलपानीको कारणले गर्दा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३ नदीपुरमा नर बहादुर नेपालीको घर अगाडिको भागमा भ्वाङ परेको छ । नरबहादुरको घर अगाडि पट्टीको भागमा जमिनमा भ्वाङ पर्दा घरको पिँढीको केहि भाग चर्कीएको छ ।
त्यसै गरि पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ मा बाढीले एउटा ट्रयाक्टर बगाएको छ । सेती नदीबाट बालुवा बोक्न प्रयोग गरिँदै आएको नारायण तिवारीको ग१त २०८८ नम्बरको ट्रयाक्टर बडीघाटबाट बगाएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्