खाना पकाउने ग्यास किन पडकिन्छ ?
जेठ ७ गते तामा तथा पित्तलको पाता जोड्ने पसलमा एचपी ब्रान्डको सिलिन्डर पडकीँदा ललितपुर स्थित हौगल टोलको इताछेंमा सुरेश ताम्राकार र ध्रुव ताम्राकारको घटना स्थलमै ज्यान गयो । सोही सिलिन्डर विस्फोटमा घाइते भएका राजेश ताम्राकारको जेठ २९ गते उपचारका क्रममा ज्यान गयो ।
काठमाडौंको कालीमाटीमा पानीपुरी पकाइरहेको अवस्थामा सुगम ब्रान्डको सिलिन्डरको भल्ब लिक भएर आगलागी भई घाइते भएका भारत मोतीहारीका व्यवसायी विकु पण्डितको उपचारका क्रममा बिहीबार ज्यान गयो ।
उक्त दुर्घटनामा मोतीहारीकै रोहित कुमाल, लक्ष्मी साह, उमेश पण्डित, राजेश सिंह, राजेशका डेढ वर्षीय छोरा अनमोल सिंह र मकवानपुरका सुरेन्द्र बलामी घाइते भए ।
उद्योगी तथा उपभोक्ता स्वयंको लापरबाहीले भएका यी दुई प्रतिनिधिमूलक घटना मात्रै हुन् । यसअघि पनि विभिन्न समयमा ग्यास सिलिन्डर पड्केर सर्वसाधारणको ज्यान गएका दर्जनौं घटना छन् । नियमनकारी निकाय र उत्पादनकर्ता उद्योगीले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा नगर्दा यस्ता घटना दोहोरिरहेका छन् । यसमा उपभोक्ताको लापरबाही पनि कारक छ ।
ग्यास उद्योगको लापरवाहीले भान्सा कोठामा हुने दुर्घटनालाई न्युनिकरण गर्न भन्दै बेला बेला अनुगमन हुने गरेका छन् । अनुगमनका क्रममा उद्योगहरुमा बिभिन्न कमजोरी र लापरबाही भेटिएपनि कुनै कारबाही गर्न नसक्दा सिलिण्डर बमको जोखीम झल बढ्दै गएको छ । राज्यलाई नटेर्ने राज्यभन्दा बलिया व्यापारीका कारण आम सर्वसाधारण उपभोक्ताको भान्साको दैनीकी जोखीमयुक्त बनेको छ ।
अधिकांश उद्योगीले सिलिन्डरको हाइड्रोस्टेटिक परीक्षण नगर्ने गरेको भेटिएको पाईएको छ । उद्योगीका कर्मचारीले सिलिन्डरको भल्ब पूर्ण रूपमा सुरक्षित हुने गरी नकसेको समेत अनुगमनमा पाइएको थियो । सुरक्षित हुने गरी नकसिएका भल्बबाट ग्यास ‘लिक’ भएर आगलागी हुने र पडकिने सम्भावना प्रबल हुन्छ ।
पछिल्लो पटक उद्योग मन्त्री सहीतको टोलीले गरेको अनुगमनका शिलशिलामा सिद्धार्थ उद्योग परिसरमा पुरानो, कच्याककुचुक परेको र गुणस्तरहीन सिलिन्डरमा नयाँ रङरोगन गरी ग्यास भरेर बजारमा पठाएको पाईएको थियो । सिद्धार्थमै २१ बर्ष पुरोनो कच्याककुचुक परेको सिलिन्डर भेटिएको थियो ।
सामान्यतया उपभोक्ताबाट खाली भएर फिर्ता आएको सिलिन्डर उद्योगमा आए पनि गुणस्तर सम्बन्धी परीक्षण गर्नुपर्ने हुन्छ । सिलिन्डरमा भएको लेदो, लिकेज, हाइड्रोस्टेटिक र अन्य प्रकारका प्राविधिक त्रुटिहरू सम्बन्धी परीक्षण गर्नुपर्छ । तर उद्योगीले कुनै परीक्षण नै नगरी गुणस्तरहीन सिलिन्डरमा ग्यास भरेर सीधै उपभोक्तासम्म पठाएको पाइएको छ ।
अनुगमनका क्रममा सुगम ब्रान्डको सिलिन्डरमा तीन सय ३० ग्रामसम्म लेदो जमेको भेटिएको थियो । सामान्यतया एक सय ५० ग्रामसम्म लेदो भेटिन सक्छ तर तीन सय ३० ग्राम लेदो मापदण्डभन्दा बढी होे । यो ठूलो लापरबाही हो । सुगम उद्योगले भरिसकिएको सिलिन्डरलाई पानीको ट्यांकीमा राखी सुरक्षित छ कि छैन भनेर परीक्षण समेत गरेको पाइएन । नियमत; ग्यास भरेर पुनः प्राविधिक परीक्षण गरी प्रयोगका लागि ‘सुरक्षित’ भएमा मात्र उपभोक्तासम्म सिलिन्डर पुर्याउनुपर्छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्