सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पत्थरीको अप्रेसनमा डाक्टरले मृगौला नै झिकिदिएपछी

मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल स्वयम्भूमा बिरामीको उपचारका क्रममा शल्यक्रिया गरी पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकिएको फेला परेको छ ।

मिर्गौैलामा पत्थरी भएर शल्यक्रिया गर्दा चिकित्सकले मिर्गौला नै झिकिदिएपछि विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालले कारण दिन माग गर्दै न्यायका लागि अपिल गरेका छन् ।

बिरामीले आफ्नो मिर्गौला अन्य प्रयोजनका लागि झिकिएको हुनसक्ने आरोप लगाउँदै त्यसका लागि न्याय दिलाउन सबैसामु सहयोग गर्न अपिल गरेका छन् ।

एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्केका ३२ बर्षिय रिमाल कोखामा अत्यधिक दुखाई भएपछि गत जेठ २२ गते उपचारका लागि सो अस्पतालमा गएका थिए ।

चिकित्सकले सबै जाँच गरेपछि मिर्गौलामा पत्थरी छ झिक्नुपर्छ भनी भर्ना गरेर २५ गते शल्यक्रिया गरेको थियो रिमालले भने, ‘पत्थरी झिक्दा मिर्गौला पनि झिकिएको रहेछ, मलाई थाहा भएन, म अचेत हुँदा मेरी श्रीमतीलाई कर गरेर छ बुँदे सम्झौता भएको रहेछ, मैले डिस्चार्ज भएर घर गएपछि मात्र थाहा पाएँ ।’

बिरामी रिमालले सो सम्झौता आफूलाई मान्य नहुने भन्दै पत्थरी झिक्नु अगावै मिर्गौला झिक्नेबारे केही जानकारी नदिनुका कारण माग गर्दै न्यायालय जाने बताएका छन ।

अस्पतालका पक्षबाट सम्झौता पत्रमा हस्ताक्षर गरेका अस्पतालका संयोजक डा. रामकुमार अधिकारीले भने बिरामीलाई पहिले नै सबै जानकारी गराईएको बताउँदै अहिले आएर बार्गेनिङ गर्ने बहाना भएको बताएका छन ।

उनले भने, शल्याक्रिया गर्ने व्यक्ति नेपालकै अनुभवी चिकित्सक प्राध्यापक गुणकुमार श्रेष्ठले गर्नुभएको हो, लापर्बाही भएको होइन, मिलिसकेको कुरा अहिले आएर किन उठ्यो, धेरै कारण हुनसक्छ, राजनीतिक विषय पनि जोडिएको हुनसक्छ ।

अस्पतालले बिरामीसँग गरेको सम्झौतामा दुवै मिर्गौला पत्थरी रहेको र बायाँ तर्फको मिर्गौलामा असामान्य रहेकाले शल्यक्रियाका क्रममा अचानक आन्तरिक रक्तश्राव भएपछि अनेक प्रयास गर्दा पनि रक्तश्राव बन्द नभएपछि ज्यान बचाउन मिर्गौला झिक्नु परेकाले बिरामीको आफन्तको सहमति रहेको भनी उल्लेख गरेको छ ।

मिर्गौला झिक्नुका कारण आन्तरिक रक्तश्राव भनिए पनि अस्पताल र बिरामीका आफन्तबीच भएको छ बुँदे सम्झौतामा बिरामीलाई अर्को मिर्गौला फेर्नुपर्ने भए फेरिदिने, जीवनभर उपचार निःशुल्क गर्ने, हालसम्म लागेको औषधि लगायतका सम्पूर्ण उपचार शुल्क मिनाहा गर्ने, बिरामीका दुई छोराको स्वास्थ्य र शिक्षाको निःशुल्क व्यवस्था गर्ने, बिरामीको श्रीमती र बिरामीलाई पनि निको भएपछि सोही अस्पतालमा रोजगारीको व्यवस्था गर्ने र बिरामीको जीवन बिमा गरिदिने विषय उल्लेख छ ।

गत जेठ २८ गते सम्झौता भएको पत्रमा मिति उल्लेख भए पनि बिरामीका श्रीमती रन्जु रिमालले भने सम्झौता पत्रमा असार ४ गते मात्र हस्ताक्षर गरेको बताइन् ।

उनले भिनन्, ‘शल्यक्रिया भएपछि मिर्गौला पनि झिकिसकेको रैछ, असार ४ गतेमात्र ८, ९ जनाले घेरेर तपाईको श्रीमानको मिर्गौला झिकेको छ, यो सम्झौतामा हस्ताक्षर गर्नुस नत्र बिरामीको ज्यान जान्छ भनेर त्यो बेला केही थाहा भएन, हस्ताक्षर गरेँ, समय किन अघिसारेका हुन् भन्ने पनि त्यो बेला ख्याल भएन ।’

बिरामी रिमालले डिस्चार्ज भएपछि पनि ४ पटक अस्पताल प्रशासनसँग आएर बुझ्दा सञ्चारमाध्यममा गए सबै सम्झौता रद्द हुने चेतावनी दिएको गुनासो गरेका छन ।

चिकित्सकको चरम लापरबाहीका कारण बिरामीको स्वास्थ्यमा गम्भीर खेलवाड भएको भन्दै बिरामी पक्षले रु. पचास लाखको क्षतिपूर्तिसहित जीवन बीमा लगायतको माग राखी अस्पताल प्रशासनमा निवेदन दिएका छन् ।

स्रोत: रासस

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS