सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

चीन र भारतबीच सिक्किममा तनावः चीनको चेतावनी

सिक्किमस्थित भारत र चीनको सीमामा जारी सैन्य तनावमा चीनले सम्झौता नगर्ने स्पष्ट पार्दै यो ‘गम्भीर’ अवस्था समाधान गर्ने जिम्मा अब नयाँ दिल्लीको रहेको बताएको छ ।

भारतका लागि चिनियाँ राजदूत लुओ जाओहुईले मंगलबार जारी तनावबारे प्रतिक्रिया दिँदै ‘बल नयाँ दिल्लीको कोर्टमा रहेको’ बताउँदै अब जारी तनावबारे कस्तो विकल्प रोज्ने जिम्मा भारत सरकारको भएको बताएका हुन् ।

यो तनावले युद्धको अवस्था पनि आउन सक्ने भन्दै चिनियाँ मिडिया र थिंक ट्यांकहरुले दिइरहेको प्रतिक्रियाबारे प्रश्न गर्दा राजदूतले भने, ‘यो र त्यो विकल्पहरुबारे कुराहरु भएका छन् । अब यो भारत सरकारको नीतिको कुरा भयो (सैन्य विकल्प लिने वा नलिने) ।’

उनले चिनियाँ सरकार जारी तनाव शान्तिपूर्ण ढंगबाट समाधान गर्न प्रष्ट रहेको तर यसका लागि भारतीय सेना उक्त क्षेत्रबाट हट्नु आफूहरुको पूर्व शर्त रहेको बताएका छन । ‘भारतीय सैनिक पहिले आफ्नो क्षेत्रमा फर्कनुपर्छ । चीन र भारतबीच कुनै पनि सार्थक वार्ताको लागि यो नै पूर्व शर्त हो,’ उनले भने ।

चीन, भारत र भुटानको त्रिपक्षीय सीमा नजिक डोका लामा क्षेत्रमा चिनियाँ सैनिक बाटो निर्माण गर्न आएपछि पछिल्ला १९ दिनदेखि त्यहाँ तनाव रहेको छ । त्यस क्षेत्रलाई भारतले डोकाला भन्ने गर्छ भने चीनले यस क्षेत्रलाई आफ्नो डोङलाङ क्षेत्र अन्र्तगत रहेको दाबी गर्दै आइरहेको छ ।

युद्ध भए भारत टिक्दैनः चिनियाँ सेना

यता, चीनको पिपल्स लिबरेसन आर्मी (पिएलए) को वेभसाइटमा प्रकाशित एक लेखमा सिक्किममा जारी तनावले सशस्त्र युद्धको रुप लिए भारतीय सेना आफूहरुसामु टिक्न नसक्ने बताइएको छ । सैन्य विश्लेषक वाङ देहुवाले सन् १९६७ मा भएको युद्धको स्मरण गराउँदै सो कुरा बताएका हुन् ।

‘भारतीय पक्ष पहिला पनि हावी हुन सकेको थिएन र, अहिले पनि उसले लाभको अवसर पाउने छैन किनभने चिनियाँ सैनिकले पछिल्लो केही दशकमा उल्लेख्य प्रगति गरेको छ,’ उनले लेखेका छन् । लेखमा उनले भारतीय सैनिक अवैध रुपमा चीनको डोङलाङ क्षेत्रमा प्रवेश गरेको कुरा दोहोर्याएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS