ओलीको गृहजिल्ला झापाको विर्तामोडमा एमालेको जित
झापाको बिर्तामोड नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेको पोल्टोमा परेको छ । बिहीबार बिहान सम्पन्न मतगणनाबाट मेयरमा ध्रुव शिवाकोटी र उपमेयरमा पवित्रा महतरा प्रसाईं निर्वाचित भएका हुन् ।
मेयरमा निर्वाचित शिवोकाटीले ९ हजार १ सय १० मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जलकुमार गुरुङले ८ हजार २ सय १७ मत पाएका छन ।
उपमेयरमा विजयी एमाले उम्मेदवार प्रसाईंले १० हजार ४ सय ३७ मत ल्याएकी छिन । उनकी निकटम प्रतिद्वन्द्वी कांग्रेसकी पार्वता गिरीले ९ हजार ११ मत प्राप्त गरेकी छिन ।
बिर्तामोड नगरपालिकाका नवनिर्वाचित मेयर शिवाकोटी अनारमनी गाविसका पूर्वअध्यक्ष हुन् । सामाजिक व्यक्तित्वको छवि बनाएका उनी माछापालन व्यवसायमा पनि संलग्न छन् ।
उनले माछापालन व्यवसायमार्फत नगरलाई नै विषादिमुक्त बनाउने अभियान चलाउँदै आएका थिए । उमेयर बनेकी प्रसाईं पार्टीकी नगर सह–इञ्चार्जसँगै जिल्ला कमिटी सदस्य थिइन् ।
नवनिर्वाचित मेयर शिवाकोटीले समृद्ध, शान्त र व्यवस्थित बिर्तामोड बनाउने लक्ष्य अघि सार्दै आइरहेका छन् । विषादि र प्रदुषणमुक्त सहरको रुपमा बिर्तामोडलाई विकसित गर्ने उनको योजना छ ।
बिर्तामोडलाई चन्दा आतंकबाट अन्त्य गर्ने, आम नागरिकलाई मानवअधिकारको प्रत्याभूति दिलाउने, बिर्तामोडको मुक्ति चोकमा आकाशे पुल राख्ने, युवालाई विदेश पलायन हुनबाट रोक्न गाउँमै रोजगारीको अवसर र कृषिमा वैज्ञानिक प्रणाली भित्र्याउने लगायतका योजना नवनिर्वाचित मेयर शिवाकोटीका योजना हुन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्