भरतपुरमा मतपत्र च्यातिएकोबारे आज सुनुवाई हुँदै
भरतपुर महानगरपालिकाको पुनः मतदान वा पुनः मतगणना भन्ने बिषय सम्बन्धी विवादको टुंगो लगाउन शुक्रबार अर्थात आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । न्यायाधीशद्धय मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा भरतपुर प्रकरणको सुनुवाई हुन लागेको हो ।
यसअघि कायम मुकायम प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले भरतपुर १९ को मतगणनाका क्रममा च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथिको मुद्दाको सक्कल मिसिल र निर्वाचन आयोगको सक्कल निर्णय पेश गर्न आदेश दिएको थियो ।
ती सबै कागजातहरु दुई साताअघिनै पेश भइसकेका छन् । भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेपछि १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।
आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेद्वार गुन्जमान विक र सोही वडाका मतदाता समेत रहेका अधिवक्ता तुलसी पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए ।
उनीहरुको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालिन आदेश दिएको थियो ।
भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादी गठबन्धनबाट मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छन् ।
एमालेबाट मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्य प्रतिस्पर्धामा छन् । २० नम्बर वडाको मतगणना बाँकी रहदा १९ नम्बरको आधा भन्दा बढी गणना भइसकेपछि मतपत्र च्यातिएको थियो ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्