यस्तो छ, जाम हटाउने गृहमन्त्री शर्माको योजना
गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौं उपत्यकामा देखिएको ट्राफिक जाम अन्त्य गर्ने प्रयत्न भइरहेको बताएका छन् । १५ दिनभित्र बिस्तृत योजना बनाउने र २–३ महिनाभित्र परिणाम देखाउने उनले घोषणा गरेका छन ।
आइतबार ब्यवस्थापिका संसदमा बिनियोजन विधेयक ०७४ बारे गृह मन्त्रालयसँग सम्वन्धित विषयहरुमा जवाफ दिँदै मन्त्री शर्माले भने– ‘ट्राफिक जामको समस्या समाधानका लागि सरोकारवाला निकायहरुसँगको छलफलपछि काठमाडौं महानगरका कार्यकारीको संयोजकत्वमा एउटा कमिटी गठन गरेर ब्यवस्थित प्लान निर्माण गर्ने कार्य भइरहेको छ, १५ दिनभित्र प्लान तयार गरेर २–३ महिनाभित्र रिजल्ट आउनेगरी काम गर्नका लागि प्रक्रिया अगाडि बढेको छ ।’
जाम हटाउने उपायको विषयमा गृहमन्त्री शर्माले ट्राफिक प्रहरी प्रमुख मिङ्मार लामासँग आइतबार पनि छलफल गरेका थिए । छलफल लगत्तै संसदमा बोल्दै मन्त्री शर्माले उपत्यका बाहिरबाट आउने गाडीहरु शहरको भित्री भागसम्म पुग्ने कार्यलाई रोकेर चक्रपथ बाहिरै राख्नेगरी छलफल अगाडि बढेको जानकारी दिएका छन ।
ट्राफिक जामको समस्या समाधानका लागि गृहमन्त्रालयसँग थोरै मात्र अधिकार रहेको भन्दै मन्त्री शर्माले भने–‘ट्राफिक प्रहरी परिचालन गर्ने बाहेक अन्य अधिकार गृह मन्त्रालयसँग छैन, त्यसैले सरोकारवाला मन्त्रालयका सबै विभागिय प्रमुखहरुलाई राखेर एउटा ब्यवस्थित प्लान निर्माणको काम भइरहेको छ ।’
काठमाडौंका सडक तथा पसल अगाडि अब्यवस्थित पार्किङ गर्नाले पनि सडक जाम बढेको भन्दै मन्त्री शर्माले जथाभावि पार्किङ गर्नेलाई दण्डीत गर्नका लागि आवश्यक तयारी गर्नुपर्ने बताएका छन ।
‘विभिन्न मन्त्रालयले गर्ने निर्माणको काममा बाटोघाटोमा खाल्डो पारिदिने र त्यसलाई दुई हप्तासम्म छाडिदिने गर्नाले समस्या बढेको छ, एकातिर ढल खन्दै जाने अर्कोतिरबाट खानेपानीको काम गर्दै जाने जस्ता समस्याबारे मैले सम्माननीय प्रधानमन्त्रीसँग अनुरोध गरेको छु’ उनले भने–‘शहरी विकासका सबै कामलाई एकीकृत रुपमा लैजानुपर्ने आवश्यकता भएको छ ।’
जेलका कैदीबन्दीलाई श्रमसँग जोड्नुपर्छ
गृहमन्त्री शर्माले नेपालका जेलहरु जिर्ण भएको उल्लेख गर्दै कतिपय जेलहरु अहिलेको अवस्थामा बस्नै नमिल्ने खालका रहेको बताएका छन ।
‘भूकम्पले जेलमा ठूलो समस्या पैदा भएको छ,’ उनले भने–‘जेललाई सुधार गर्नका लागि त्यहाँ भित्र रहेका मान्छेहरुलाई श्रमसँग जोड्ने ब्यवस्थालाई पनि अगाडि बढाउनुपर्छ ।’
जेलमा कम भन्दा कम मान्छे पर्ने ब्यवस्थाका लागि शान्ति सुरक्षा र कानुनको पालना गर्ने कुरामा जोड दिनुपर्ने उल्लेख गर्दै उनले भने, ‘मैले प्रस्तुत गरेको ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्रमा जेलहरुमा कैदी बन्दीको संख्याका आधारमा स्वास्थ्य चौकी, उपकेन्द्र बराबरको सेवा गर्ने र सरकारले उपचारको ब्यवस्था गर्ने कुरा अगाडि सारेको छु, त्यसलाई कार्यान्वयन गरिँदै लगिने छ ।’
सांसद प्रेम सुवालले खुल्ला सिमानाबारे उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले सीमा स्तम्भको संरक्षणका लागि सशस्त्र प्रहरीको स्थायी र अस्थायी गरी ८९ स्थानमा बोर्डर आउट पोष्ट स्थापना गरेको बताए । ‘अहिले सिमानामा ९ हजार ३७७ जनशक्ति परिचालन गरिएको छ, थप बोर्डर आउट पोष्ट स्थापना गर्ने कार्य भइरहेको छ ।’
सीमामा नियमित गस्ति तथा अनुगमन भइरहेको उल्लेख गर्दै मन्त्री शर्माले भने, ‘दुवै देशका सर्भे–नापी विभागले संयुक्त टोली बनाई विगत तीन बर्षदेखि सीमा क्षेत्रमा कार्य गरिरहेका छन, जोर नम्बरका सीमा स्तम्भ भारतीय पक्षले बिजोर नम्बरका सीमा स्तम्भ नेपाल पक्षबाट मर्मत गर्ने कार्य भइरहेको छ ।’
त्यस्तै नेपाल प्रहरीको रिक्त पदहरुमा एक महिनाभित्र बढुवा प्रक्रिया शुरु गर्ने नीति बनाइएको जानकारी दिँदै उनले भने, ‘धेरै समय बढुवा नहुने, कसैलाई माथी तान्ने, कसैलाई तल पार्ने, लामो समय बढुवा नहुने गुनासाहरु आउने गरेको हुनाले सबै गुनासा अन्त्य गर्नेगरी रिक्त हुने वित्तिकै पदपूर्तिको प्रक्रिया अगाडि बढाउने ब्यवस्था गरिएको छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्