व्यापारी श्रेष्ठको हत्यामा संलग्न पुजा भारतमा पक्राउ
तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न युवती भारतबाट पक्राउ परेकी छन् । व्यवसायी श्रेष्ठलाई ‘हनी ट्रयापिङ’मा पारेर अपहरण गरी फिरौति माग्ने कार्यमा पूजा घर्ती नामकी युवतीको संलग्नता खुले पनि उनी फरार थिइन् ।
अपहरण पश्चात हत्या गरिएका तुलसीपुरका व्यापारी श्रेष्ठको अपहरणमा संलग्न भनिएकी ती युवतीलाई भारतको हिमांचल प्रदेशबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । उनलाई आजै अञ्चल प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गर्दैछ ।
श्रेष्ठको हत्यामा संलग्न अन्य चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । पूजा घर्तीले फोन गरेर बोलाएपछि श्रेष्ठ सल्यानतर्फ जाँदै गर्दा अज्ञात समूहले बाटोबाटै अपहरण गरेको थियो । श्रेष्ठसँगै वेपत्ता भएका स्काभेटरको ठेक्कापट्टा गर्ने रणबहादुर घर्तीमगरको अवस्था भने अँझै अज्ञात छ ।
अपहरणको तीन दिनपछि नै श्रेष्ठको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत जेठ २७ गते अपहरणमा परेका श्रेष्ठको शव भने यही असार १६ गते फेला परेको थियो । तुलसीपुर बजारस्थित बुटवल बस्त्रालयका सन्चालक ५२ वर्षीय श्रेष्ठको पैसाकै लागि अपहरण भएको खुलेको छ ।
प्रहरी अनुसन्धान अनुसार अपहरणकारीले एकपटक परिवारलाई सम्पर्क गरी ३ करोड फिरौती मागेका थिए, तर त्यतिबेला उनको हत्या भइसकेको थियो । शव सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे भन्ने स्थानमा ढुंगाको थुप्रोमा पुरिएको अवस्थामा भेटिएको थियो ।
घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीले चार सदस्यीय समिति गठन गरेको थियो । अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख एसएसपी ज्ञानविक्रम शाहको संयोजकत्वमा गठित समितिमा दाङ, सल्यान र बाँकेका प्रहरी प्रमुख सदस्य थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्