सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दुर्घटनाको संघारमा राप्रपा, कमल थापालाई चेतावनी

 

एकीकरण भएको एक वर्ष पनि नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक कलह चुलिन थालेको छ । राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर राणाले कमल थापाले राप्रापालाई आफ्नो बिर्ता बनाउन खोजेको आरोप लगाएका छन् ।

थापाले अरुलाई सुइँकोसम्म नदिइ पार्टीमा ४२ जना केन्द्रीय सदस्यहरु मनोनयन दर्ता गरेको भन्दै राणाले उक्त आरोप लगाएका हुन् । कमल थापालाई उक्त निर्णय फिर्ता लिन आग्रह गर्दै नेता राणाले नभए पार्टीमा विभाजन आउन सक्ने चेतावनी समेत दिएका छन् ।

संस्थापन पक्षले बेग्लाबेग्लै छलफलदेखि लिएर केन्द्रिय सदस्यहरुको मनोनयनसम्मको प्रक्रियालाई अगाडि बढाएको छ । पार्टीको निर्णयमा असन्तुष्ट बनेका नेताहरुलाई सहमतिमा ल्याउनको लागि थापा पक्षले प्रयत्न पनि जारी राखिरहेको छ ।

बलियो राष्ट्रवादी शक्ति निर्माणको लागि एकता भएको पार्टीमा विभाजन कुनै पनि हालतमा हुनु हुँदैन’, संस्थापन पक्षीय एक शीर्ष नेताले भने, ‘त्यसका लागि असन्तुष्टलाई मनाउन छलफल चलिरहेको छ ।’

तर असन्तुष्ट समूहले संशोधन प्रस्तावमा नसघाउने संस्थापनले प्रतिबद्धता नगरेसम्म र कमल थापाको कार्यशैली नसच्चिएसम्म सहमतिमा आउन नसक्ने बताएको छ ।

असन्तुष्टले समानान्तर रुपमा केहि दिनयता भेला र बैठक गर्दै पार्टी फुटाउनेसम्मको नीति अख्तियार गरेसँगै अध्यक्ष कमल थापाले बिहिबार तीन दर्जन बढी केन्द्रीय सदस्य मनोनयन गरेका छन् ।

शुक्रबार एक विज्ञप्ती नै जारी गरेर नेता राणाले भनेका छन, ‘पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय समितिमा ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेको समाचार विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएपछि गम्भीर रुपमा मेरो ध्यानाकर्षण भएको छ ।’

दुई पार्टीहरुको एकीकरणपछि बनेको वर्तमान राप्रपाको महत्वपूर्ण निर्णयमा पार्टीका सबै नेतासँग परामर्श गर्नुपर्नेमा अध्यक्ष कमल थापाले एकलौटी गरेको राणाले आरोप लगाएका छन् ।

नेता राणाले विज्ञप्तीमा भनेका छन, ‘अध्यक्ष एक्लैले एकांगी रुपमा मधेस, महिला, आदिवासी जनजाति, पिछडिएको क्षेत्र एवं समुदाय, दुर्गम क्षेत्र र दलितको समानुपातिक र समावेशी प्रतिनिधित्वको कुनै ख्याल नराखी गरिएको मनोनयनप्रति मेरो पूर्ण असहमति छ ।’

यो निर्णय तुरुन्त फिर्ता लिन अध्यक्ष थापालाई चेतावनी दिँदै राणाले भनेका छन, ‘म यस कार्य र प्रवृत्तिको घोर निन्दा र भत्सर्ना गर्दछु । म राप्रपा अध्यक्षमा यो सचेत गराउँछु कि एकांगी रुपमा गरिएको सो निर्णय फिर्ता लिएर पार्टीलाई विग्रह तथा प्रत्युत्पादक आन्तरिक द्वन्द्वमा फस्नबाट बचाइयोस् ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्