सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ललितपुरको बजेट, अबका पाँच बर्ष विकासका बर्ष

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि ३ अर्ब २२ करोड ९१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार पहिलो नगरसभामा ललितपुरका मेयर चिरीबाबु महर्जनले बजेट प्रस्तुत गरेका हुन् ।

बजेट मध्ये ४३ करोड १२ लाख रुपैयाँ बजेट चालु खर्चका लागि विनियोजन गरिएको छ । ललिपुर महानगरपालिकाको विकास बजेट भने झण्डै २ अर्ब ८० करोड रुपैयाँको रहेको छ ।

यसअनुसार चालु र विकास बजेटको हिस्सा क्रमश १३.३५ र ८६ दशमलव ६५ प्रतिशत रहने छ । मेयर महर्जनले कुल बजेटमध्ये १ अर्ब २२ करोड आन्तरिक श्रोतबाट ब्यवस्थापन गर्ने बताएका छन् ।

नेपाल सरकारको २८ करोडको सशर्त अनुदान र ५६ करोडको वित्तीय समानीकरण अनुदान र बहुवर्षीय सडक विस्तारतर्फको १० करोड, विभिन्न कार्य तथा परियोजनाका लागि २६ करोड र वैदेशिक सहायता अनुदानतर्फ ७७ करोड गरी कुल ३ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याइएको छ ।

महानगरपालिकाले सार्वजनिक सेवा प्रवाहमा सुधार गर्दै दीगो शहरी पूर्वाधार विकास र वैकल्पिक उर्जाको प्रवद्र्धनलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ ।

सांस्कृतिक सम्पदाको पुनर्निर्माण, पर्यटनको माध्यमबाट आथिर्क विकास र बाल तथा वातावरणमैत्री स्थानीय शासन एबम् पूर्ण सरसफाईलाई पनि बजेटले आफ्नो प्राथमिकताका रुपमा लिएको मेयर महर्जनले बताएका छन ।

बजेट प्रस्तुत गर्दै महानगरपालिकाका मेयर महर्जनले आफूहरुले नगरबासीको शीर झुक्ने गरी कुनै काम नगर्ने बताएका छन । उनले अबको ५ वर्ष ललितपुर महानगर सुधार र विकासको वर्षहरु हुने भन्दै दूरगामी लक्ष्यहरु राखेर नै बजेट ल्याइएको बताएका छन ।

महर्जनले वडा कार्यालयहरुलाई नै नागरिकको सेवाको प्रमुख केन्द्र बनाउन लागिएको भन्दै विकासका लागि वडाहरुलाई सशक्त बनाउने गरी बजेट ल्याएएको बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्