जितको खुशियालीमा एमाले बैठकमा केक काटियो
साउने संक्रान्तिको दिन पारेर एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको बैठक आफ्नै निवास बाल्कोटमा बोलाएका छन् । आजको बैठकको शुरुवात भने बेग्लै तरिकाले भएको छ ।
बैठकको शुरुवातमा केक काट्दै ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीले हाँसिल गरेको सफलताका अवसरमा एक आपसमा खुशी साट्न केकको व्यवस्था गरिएको बताएका थिए ।
उनले केक काट्दै पार्टीले हाँसिल गरेको सफलतामा सन्तुष्ट भएर नबस्न नेताहरुलाई आग्रह गरेका छन । सरकारी पक्षपात, सत्ताधारी गठबन्धन र देशी–विदेशी हर्कतका बावजुद दुबै चरणका स्थानीय निर्वाचनमा एमाले पहिलो भएपछि नेताहरुले केक काटेर खुसियाली मनाएको ओली सचिवालयले जनाएको छ ।
अब तेस्रो चरणमा हुने स्थानीय निर्वाचनका साथै प्रदेश र संघको निर्वाचनमा पनि पार्टीलाई पहिलो बनाउने संकल्प एमाले नेताहरुले गरेका छन् । यस अघि नै अध्यक्ष ओलीले जुनसुकै गुट र नेताको नजिक भएको भए पनि अन्तरघातीलाई कुनै छुट नदिने घोषणा गरेका छन ।
केकमा अंग्रेजीमा ‘स्थानीय चुनावको विजयप्रति बधाई’ भनेर लेखिएको छ, जसमा सूर्यको भित्र एमालेको लोगो र कम्युनिस्ट पार्टीको झण्डा राखिएको छ ।
एमाले नेताहरुका अनुसार अध्यक्ष केपी शर्मा ओलीको सचिवालय आफैंले केकको व्यवस्था गरेको थियो ।
एमालेले दुवै चरणको स्थानीय चुनाव जितेर कांग्रेसलाई ४९ सिट पछि पारेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्