सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

गाउँनिकाला गरिएकी ११ बर्षिय गर्भवतिको बिचल्ली

भोजपुरको अरुण गाउँपालिका ५ याकुकी ११ वर्षिया बालिका गर्भवती भएपछि गाउँलेले गाउँनिकाला गरेका छन् । छिमेकी २० वर्षिय दुर्गाबहादुर श्रेष्ठले ललाई फकाई शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिइन ।

साधनाको बुवा नेवार र आमा दलित समुदायको भएको भन्दै केटा पक्षले दलितको छेरी नभित्र्याउने भन्दै धम्की दिएपछि गाउँनिकाला गरिएको हो । गाउँनिकाला पछि धरान झरेकी बालिकाको भने बिचल्ली भएको छ ।

बालिकालाई ७३ साल पौष ९ गते दुर्गाबहादुर श्रेष्ठले शारीरिक सम्बन्ध राखेका थिए । बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको छ । बालिकाको बुवा खगेन्द्र श्रेष्ठले भने, ‘छ महिनाको भर्गवती छोरीलाई डर र धम्कीको कारण गाउँनिकाला गर्नुप¥यो ।

बालिका अहिले धरानमा वेवारिसे अवस्थामा रहेको उनले बताए । संगै गएको केटाको अत्तोपत्तो छैन । छोरीले कहिले कहाँ कहिले कहाँ पुगेर फोन गर्छे भोक भोकै छे ।’ कमजोर आर्थिक स्थिति भएका खगेन्द्र भारतमा मजदुरी गर्ने गरेको बताए ।

अन्तरजातीय विवाह गरेका कारण यो समाजले पनि मलाई न्याय दिएन खगेन्द्रले भने, ‘केटा पक्षले डरधम्की दिँदै सम्पतिको धाक देखायो ।’ अहिले पनि हामीलाई डर लागिरहेको छ केटा पक्षले केही गर्लाकी भनेर’, उनले भने ‘छोरीको विजोग भयो कहिले कसको नम्बरबाट कहिले कस्को नम्बरबाट फोन गर्छे कहाँ बस्छे टुंगो छैन् ।’

स्थानीय पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छोरी अहिले घर न घाटको भएपछि परिवार पीडामा डुबेको छ । उनले भने गाउँ समाजले समाजबाट नै हटाउने कुरा गरे मैले केही बोल्न सकिन् । बालिकाको माइजु निलम घलेले बालिकालाई स्वास्थ्य चौकी परिक्षणका लागि लाँदा गर्भवती भएको पाइएको बताइन ।

घलेले महिलाहरु समेत भएको भेलामा बालिकाको पक्षमा बोल्ने कोही नभएपछि केटाले बालिकालाई धरान लगेको बताइन । भेलामा सहभागी अगुवा महिला प्रतिनिधिले समेत साथ नदिएपछि केटी पक्ष निरास बनेको थियो । प्रहरी चौकी याकुमा गए पनि सहयोग नपाएको परिवारले बताएको छ ।

याकु प्रहरी चौकिका इन्चार्ज रमेश श्रेष्ठले भने केटीको बुवा आएर गाउँ समाज बसेर बिहे गरिदिने निर्णय भएअनुसार विवाह गरिदिएको बताए । महिला विकास कार्यालय भोजपुरका पुष्पलता उप्रेतीले घटनाको विषयमा जानकारी पाएको र उनको परिवारलाई जिल्ला बोलाएको बताइन ।

यस विषयमा बुझ्न केटा पक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । गाउँनिकाला गरिएकी बालिकाको उद्दार र संरक्षणका लागी कुनै पहल भए नभएको बारेमा हालसम्म कुनै जानकारी आउन सकेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS