राहतमा पाएको नम्बरप्लेट बेच्नथाले भुकम्प पिडितले
सरकारले भूकम्प पीडितलाई स्वरोजगारीका लागि दिएको ट्याक्सीको नम्बर प्लेट किनबेच हुन थालेको छ । सरकारले १४ जिल्लाका भूकम्प पीडितका लागि एक हजार पाँच सय वटा ट्याक्सीको नम्बर वितरण गरेको थियो ।
अहिले ट्याक्सी दर्ता प्रक्रिया चलिरहेको छ । तर, ट्याक्सीको नम्बर प्लेट किनबेच सुरु भएको छ । काठमाडौंमा ट्याक्सीको नियमित दर्ता बन्द भएकाले भूकम्प पीडितले पाएको ट्याक्सीको नम्बरका लागि पाँच लाखसम्म खर्चिनेहरु भेटिएका छन् ।
भूकम्प पीडितलाई प्रभावित गरेर प्लेट खरिद गर्न बिचौलियाहरु पनि सक्रिय भएका छन् । पछिल्लो पाँच दिनमा यातायात ब्यवस्था विभाग, साना–ठूला सवारी कार्यालय एकान्तकुनामा भूकम्प पीडितले पाएको नम्बरका ८० वटा ट्याक्सी दर्ता भएका छन् ।
यसमध्ये ५० वटा ट्याक्सी भूकम्प पीडितले अर्काकै नाममा नामसारी गरिदिएका छन् । ट्याक्सी दर्ता नरोकिएपनि नामसारी नरोकिएका कारण यो सहज भएको हो ।
‘नम्बर पाएका भूकम्प पीडित स्वयंमले ट्याक्सी नल्याएसम्म दर्ता नगर्ने ब्यवस्था गरेका छौं,’ कार्यालय प्रमुख बसन्त अधिकारीले भने, ‘तर, दर्ता गर्ना साथै नामसारी हुने गरेको छ । कानुनतः ट्याक्सी नामसारी गर्न पाइने भएकाले रोक्न सकेनौं ।’
यसरी नामसारी गर्दा भूकम्पपीडितले अनौपचारिक रुपमा राम्रै रकम बुझेका छन् । तर, भूकम्प पीडितलाई स्वरोजगार बनाउने उद्देश्य भने पुरा नहुने भएको छ ।
भूकम्प पीडितका नाममा पाएको ट्याक्सी बेच्नेहरुले भने बैंकले ऋण नदिने भएकाले १६ लाख भन्दा बढी खर्चिएर ट्याक्सी किन्ने अवस्था नभएको तर्क गरेका छन् ।
काठमाडौंमा अहिले साढे ५६ सय ट्याक्सी छन, जुन २०५७ सालमा ७५ सय हाराहारी थियो । पछिल्लो समय भाडाका ट्याक्सीको नयाँ नम्बर दर्ता पनि रोकिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्