सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मन्त्रालय भागबण्डा, कांग्रेसलाई १३, माओवादीलाई ९

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मन्त्रालय भागबण्डा टुंगो लगाएका छन् । साथै प्रमुख विपक्षी दल नेकपा एमालेको राय लिएर तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने सहमति पनि दुई दलबीच भएको छ ।

मंगलबार साँझ बालुवाटारमा बसेको कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डा टुंग्याएको हो । जसअनुसार सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिनेछ ।

कांग्रेसका एक नेताका अनुसार भौतिक पूर्वाधार कांग्रेस आफैंले राखेको छ भने माओवादीले उर्जा र स्वास्थ्य मन्त्रालय पाएको छ । अघिल्लो सरकारमा आफूले लिएको परराष्ट्र मन्त्रालय यो पटक माओवादीले लिएपछि स्वास्थ्य आफूले पाउनु पर्ने कांग्रेसको दाबी थियो भने भौतिक तथा पूर्वाधारमा दुबै पार्टीको दाबी रहँदै आएको थियो ।

माओवादीले गृह, परराष्ट्र र शहरी विकास मन्त्रालय लिइसकेको छ भने कांग्रेसले अर्थ र शिक्षा लिएको छ । मन्त्रालय बाँडफाँडबारे गृहकार्य गर्न बनेको कार्यदलका सदस्य रमेश लेखकले भने, ‘मन्त्रालय बाँडफाँड टुंगिएको छ ।’

कांग्रेस र माओवादीबीच आज बुधबार पुनः छलफल गर्ने र मन्त्रिपरिषद विस्तारलाई अन्तिम रुप दिइने नेता वर्षमान पुनले जानकारी दिएका छन । सत्तारुढ दुई दलबीच प्रेश र संसदको निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्ने सहमति भएको छ ।

प्रमुख विपक्षी एमालेको पनि राय लिएर आयोग गठन गरिने कांग्रेस नेता लेखकले बताएका छन् । कांग्रेस र माओवादीले आज राष्ट्रिय जनता पार्टीका नेताहरुसँग छलफल गर्ने तय भएको स्रोतले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्