काठमाण्डौ आयो यतीको ‘योंगेस्ट एटीआर’ विमान
जेटस्ट्रिम विमानमार्फत सेवा दिइरहेको यति एयरलाइन्सको ‘योंगेस्ट एटीआर’ बिमान काठमाण्डौ आईपुगेको छ । योसँगै यती एयरले अब एटीआर युगमा प्रवेश गरेको छ । यतिको पहिलो एटीआर विमान शनिबार मध्यान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।
फ्रान्सेली कम्पनी एटीआरको जहाजलाई यतिले पहिलोपटक ल्याएको हो । एटीआरमार्फत बुद्ध एयरले बजार हिस्सा बढाउँदै लगेपछि यति पनि आफ्नो बजारलाई तल झर्न नदिने रणनीतिका साथ एटीआर विमानहरु ल्याउने अनुमति पाएको थियो ।
यतिले एटीआर ७२–५०० सिरिजको विमान ल्याएको कम्पनीका म्यानेजर भीमराज राईले बताएका छन । यसले ९ एन–एएमएन कल साइन पाएको छ । ७२ सिट क्षमताको यो विमान नेपालका तराईका सजिला एयरपोर्टहरुका लागि उपयुक्त मानिन्छ । बढी यात्रुको चाप हुने गन्तब्यमा यो विमान उपयोगी सिद्ध भइसकेको छ ।
अबको एक महिनापछि कम्पनीको अर्को एटीआर पनि काठमाडौं आइपुग्ने राईले बताएका छन । सिंगापुरको एजेन्टमार्फत करिब एक अर्ब लगानी गरेर यतिले एटीआर ७२–५०० ल्याएको जनाएको छ । यो विमानमार्फत भैरहवा, नेपालगञ्ज, विराटनगर, भद्रपुर लगायतका प्रमुख गन्तब्यहरुमा उडान गर्ने योजना कम्पनीको छ ।
कम्पनीले अब एक वर्षभित्र थप २ वटा एटीआर ल्याउनेछ । नयाँ जहाज आएसँगै यतिको विमान संख्या ७ पुगेको छ । यतिले अहिले ३० सिटे जेटस्ट्रिम–४१ सिरिजका ६ वटा विमान चलाइरहेको छ ।
अब जेटस्ट्रिमसहित एटीआरमार्फत पनि सेवा विस्तार गर्दै जाने म्यानेजर राईले बताएका छन । अहिले बुद्धसँग ४ वटा एटीआर छन् । यतिले ल्याएको यो विमान नेपालको ‘योंगेस्ट एटीआर’ भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्