४ जनाको मृत्यु झन रहश्यमय, कान्छितिर आशंका
शुक्रबार साँझ बनेपा बसपार्कमा एकै परिवारका चार जना मृत भेटिएको घटना थप रहस्यमय बन्दै गएको छ । मृतक बनेपा नगरपालिका वडा नं. २ का राजाराम दाहालले दुई श्रीमतीमध्ये कान्छी श्रीमती पूजा दाहालसँग आठ महिना अघि नै सम्बन्ध विच्छेद गरेको रहस्य खुलेको छ ।
मृतक हरिभक्त दाहालका एकमात्र छोरा राजाराम दाहालले कान्छी श्रीमतिलाई ८ महिना अघि नै अंश दिएर २०७३ साल मंसिर १२ गते सम्बन्ध विच्छेद गरेको पाइएको हो ।
जेठी श्रीमतीलाई अशं नदिने उद्देश्यका साथ आफ्नो नाममा रहेको जग्गालाई बकस पत्र गरी सम्बन्ध विच्छेद गरिएको हुन सक्ने बताइन्छ । राजारामका दुई श्रीमतीबीच अंशको विवाद रहेको यसअघि नै खुलासा भइसकेको छ ।
जेठी श्रीमती राजारामले कान्छी ल्याएसँगै बेग्लै बस्दै आएकी थिइन् । पूजा भने सम्बन्धविच्छेद भएपनि राजाराम सँगै बस्दै आएको स्थानीय बताउँछन् ।
पूजाले श्रीमान राजाराम, सुसुरा हरिभक्त र सासु हरिमाया दाहालको नाममा रहेको सम्पत्ति २०७३ मंसिर ७ गते आफ्नो नाममा बकस पत्र गराई २०७३ साल मंसिर ९ गते जिल्ला अदालत काभ्रेमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी थिइन् ।
त्यसको चार दिन पछि मंसिर १२ गते जिल्ला अदालत काभ्रेबाट सम्बन्ध विच्छेद गरेको प्रमाणपत्र लिएको देखिन्छ । सम्बन्ध विच्छेदअघि आफ्नो मितिनी भनिने निर्मला थापाको श्रीमान पशुपति श्रेष्ठको नाउँमा यस अघि नै गोप्य रुपमा राखिएको साविक दक्षुटोल १ मा रहेको कित्ता नं. ६७९ बाट कित्ता नम्बर ९७९ मा २ आना २ दामको जग्गा र सोही जग्गामा बनेको तीन तले घर पुजाले सम्बन्ध विच्छेद गरेको २३ दिन पछि पुस ५ गते बकस पत्र गरी लिएको देखिएको जिल्ला मालपोत कार्यालय काभ्रेका मालपोत अधिकृत विनोद कोइरालाले बताएका छन ।
२०७३ साल मंसिर २ गते कित्ता नम्बर ७३० बाट हरिभक्त दाहालले टुकुचा गाविस वडा नं. ८ मा रहेको ०–८–३–२ क्षेत्रफलको बारी आफ्नो नाउँमा अशं बुझिलिएको जिल्ला मालमोत कार्यालय काभ्रेको रेकर्डमा देखिएको छ । जसको कित्ता नम्बर ९६३ रहेको छ ।
कित्ता नम्बर ७३० बाटै छोरा राजारामले ०–८–३–१ जग्गा अशं बुझिलिए । तर मंसिर ७ गते पुजाले सासु हरिमाया दाहालबाट उग्रचण्डी नाला ६ को कित्ता नम्बर ३३४ नम्बरबाट ५ रोपनी ८ आना २ पैसा ३ दाम जग्गा बकस पत्र गरि लिइन् ।
७ गते सासुबाट जग्गा बकस पत्र गरी लिएपछि मंसिर ९ गते जिल्ला अदालत काभ्रेमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराई मंसिर १२ गते आफ्नो छोरा राजाराम दाहालसँगै रहने संझौता गराई आफुले सम्बन्ध विच्छेद गरिन् ।
सम्बन्ध विच्छेदको नाटक पछि आफैले यस अघि नै किनेको बनेपाको पक्की घर र जग्गा पुजाले आफ्नो नाउँमा ल्याइन् । यसो गर्दा उक्त घर जग्गा पनि राजारामकी अर्की श्रीमती कमलालाई दिनु नपर्ने उनको बुझाइ देखिन्छ ।
भएभरको सम्पती आफ्नो नाउँमा ल्याएपनि कानूनी मान्यता नदेखिने र कुनै न कुनै दिन उक्त सम्पती जेठी श्रीमतीको छोराले पाउने देखेपछि उनले सम्बन्ध विच्छेदको कागज गराएको बताइन्छ ।
घटना घट्ने दिन दिउँसो राजारामले बहिनीको विवाहको लागि आवश्यक खर्चको विषयमा पारिवारिक सल्लाह गरेका थिए । बहिनीको विवाहलाई पैसा नदिने अडान पुजाले गरेकी थिइन् ।
त्यतिमात्र नभई पुजाले आईतबारसम्म होटल खाली गर्न उर्दी जारी गरेको बताइन्छ । सबै सम्पत्ति कान्छीको नाउँमा दिइसकेको र आफुहरु सडकमा पुगेको दाहाल परिवारमा आत्महत्या भयो वा हत्या नै भयो त्यो भने अँझै एकिन हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुल थापाले घटनाको अनुसन्धान भइरहेको बताएका छन । सामुहिक चार जनाको रहस्यमय मृत्युमा उनकी कान्छी श्रीमतीको सम्पत्ति हत्याउने प्रपञ्च भने प्रमुख कारण देखिन्छ ।
शुक्तबार राती टुकुचा नाला डुुडामुखका बर्ष ६५ का हरिभक्त दाहाल, उनकी श्रीमती बर्ष ६० कि हरिमाया दाहाल, उनका छोरा बर्ष ३२ का राजाराम दाहाल र उनकी छोरी बर्ष २५ कि रन्जना दाहाल आफैले संचालन गर्दै आएको बनेपा नयाँ बसपार्कको गौतम भोजनालयमा मृत भेटिएका थिए । घटना भएको चार दिन भईसक्दा समेत मृतकको पोष्टमार्टम हुन सकेको छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्