सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नेपाल बटर हो, बटर बिना स्यान्डविच मिठो हुन्न: लामा


नेपाल–भारतबीच भएको १९५० को मैत्री सन्धिका विवादित बूँदाहरुमा पुनरावलोकन गर्दै दुई देश बीचको सम्बन्धलाई अँझ उचाईमा पुर्याउन सकिने विज्ञहरुले सुझाव दिएका छन् ।

आइतबार टोकियोको इचिगायास्थित जाइकाको सेमिनार हलमा चुकुबा विश्वविद्यालययले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध र १९५० को मैत्री सन्धिको सान्दर्भिकता’ विषयक कार्यक्रममा पुनरावलोकनका बूँदाहरुमा अध्ययन र अनुसन्धान गरिनुपर्नेमा पनि विज्ञहरुले जोड दिएका छन ।

कार्यक्रममा जवाहरलाल नेहरु विश्वविद्यालय दिल्लीका प्राध्यापक तथा नेपाल–भारत सम्बन्ध पुनरावलोकन सम्बन्धि गठित प्रबुद्ध समूहमा भारतीय पक्षका सदस्य डा. महेन्द्र पी लामाले भारत र चीनका बीच नेपालको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपालले आफ्नो शक्ति चिन्न नसकेको बताएका छन ।

१९५० को सन्धिमा नेपाललाई मन नपरेका बुँदाहरु नेपाल सरकारले लिखित रुपमा भारत सरकार समक्ष राख्न नसकेको उल्लेख गर्दै लिखित रुपमा स्पष्ट धारणाहरु राख्न उनले नेपाललाई सुझाव दिएका छन ।

‘भारत नेपालसँगको आफ्नो सम्बन्ध नबिग्रोस् भन्ने चाहन्छ । भारतले नेपालको शक्ति बुझेको छ तर नेपालले आफ्नो शक्ति बुझ्नुपर्छ,’ लामाले भने, ‘नेपाल चीन–भारत बीचको ‘स्यान्डविच’हो । स्यान्डविचको दुई रोटी बीचको बटर हो नेपाल । बटर बिना स्यान्डविच मिठो हुँदैन ।’

लामाले अगाडी भने–‘नेपालले आफ्नो सोचाइमा फराकिलोपना ल्याउनुपर्छ र भारत र चीनबीच आफ्नो भूमिका देखाउनुपर्छ ।’

चुकुवा विश्वविद्यालयका सह–प्राध्यापक डा. कमल लामिछानेले १९५० को मैत्री सन्धिका केही बूँदाहरु राणाशासन टिकाउका लागि गरिएको टिप्पणी गर्दै सन्धि पुनरावलोकन गर्दै दुई देश बीचको सम्बन्ध सुधारमा जोड दिएका थिए ।

नेपालका नेताहरुको अभिव्यक्ति र कार्यशैली फरक भएको आरोप लगाउँदै राजनीतिक दलले भारत खुशी बनाउने मात्र काम नगरी राष्ट्र बनाउन काम गर्नुपर्ने डा.लामिछानेको धारणा थियो ।

समृद्ध नेपाल निर्माण अभियान कार्यक्रमका संयोजक महेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डा.विजय ज्ञवालीले सहजकर्ताको भूमिका खेलेका थिए ।

सहजकर्ताको तर्फबाट बोल्दै डा. ज्ञवालीले नेपाल भारतको सम्बन्धको बारेमा प्रवासमा छलफल हुनु नौलो अभ्यास भएता पनि नेपाल भारत कुटनीतिक सम्बन्ध सुधारमा यस्ता अभ्यास फलदायी हुन सक्नेतर्फ सबैले विचार गर्नु पर्ने बताएका थिए ।

रिपोर्टर्स क्लव नेपाल जापानका अध्यक्ष सन्तोष चोखालले संचालन गरेको कार्यक्रमलाई दिगो विकासका लागि पारस्परिक मैत्री समूहका दुर्गाबहादुर खत्री र सुदुर पश्चिमेली समाजका पूर्ण चलाउनेले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रममा एनआरएनए जापान, आइसीसी, सामाजिक संघ संस्था, बिधार्थी, ब्यापारी, बुद्धिजीवी लगायतका जापानबासी नेपालीको सहभागिता थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS