को–को बन्दैछन त भोली कांग्रेसबाट मन्त्री ? नामसहित
अन्ततः नेपाली कांग्रेसले मन्त्री हुनेको नाम टुंग्याएको छ । बुधबार कांग्रेसका तर्फबाट १० जना मन्त्री हुने भएका छन् । कांग्रेस स्रोतका अनुसार सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका ४-४ जना मन्त्री हुने भएका छन् भने नेताहरु कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का समूहबाट १-१ जना मन्त्री हुन लागेका छन् ।
देउवा पक्षबाट समानुपातिक सांसदहरु अम्बिका बिष्ट र मीन विश्वकर्मा तथा प्रत्यक्ष निर्वाचित बीरबहादुर बलायर (डोटी) र अर्जुन जोशी (पर्वत) मन्त्री हुने भएका छन् । यो सूचीमध्ये जोशीको नामबारे भने भोलि बिहानसम्म मात्रै अन्तिम निर्णय हुने बताईएको छ ।
त्यस्तै पौडेल पक्षबाट यज्ञबहादुर थापा (कास्की), सञ्जय गौतम (बर्दिया), राजन केसी (काठमाडौं) र रामकृष्ण यादव (धनुषा) को नाम टुंगो लागेको छ । पौडेल समूहबाट मन्त्री बन्न लागेका केसी गत संविधानसभामा काठमाडौं–१० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई हराएर निर्वाचित भएका थिए ।
नेता कृष्ण सिटौलाको समूहबाट काठमाडौं–५ का सांसद भीमसेनदास प्रधान र खुमबहादुर खड्का समूहबाट सिन्धुपाल्चोकका सांसद मोहन बस्नेत मन्त्री हुने टुंगो लागेको हो ।
सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ वटा मन्त्रालय लिने सहमति सत्ता साझेदार दलहरुबीच भएको छ । कांग्रेसबाट उपप्रधानसहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर भइसकेका छन् ।
जेठ २४ गते माओवादी लगायतका दलहरुको समर्थनमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका कांग्रेस सभापति देउवाले कांग्रेसका १० जना र माओवादीका ६ जना नयाँ सदस्यहरुलाई मन्त्री पदमा नियुक्त गरी भोलि नै पद तथा गोपनियताको सपथ दिलाउने भएका छन् ।
नेपाली कांग्रेसले हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सहित अर्थ, श्रम तथा रोजगार, शिक्षा मन्त्रालय सम्हालिरहेको छ । अब उसले थप भौतिक पूर्वाधार, सञ्चार, सिँचाई, रक्षा, गरिबी निवारण तथा सहकारी, खेलकुद, कानुन, कृषि, वाणिज्य र खानेपानि तथा सरसफाई मन्त्रालय पाउनेछ ।
कांग्रेस र माओवादीबीच साउन ४ गते भएको सहमति अनुसार कुल ३० मन्त्रालयमा कांग्रेसको भागमा १३, माओवादीको भागमा ९ र फोरम लोकतान्त्रिकलाई ३ र नेकपा संयुक्तलाई एक मन्त्रालय बाँडिएको छ भने बाँकी चार मन्त्रालय राप्रपा र साना दलका लागि छुट्ट्याइएको छ ।
हाल माओवादी केन्द्रले परराष्ट्र, गृह र सहरी विकास मन्त्रालय पाएको छ । अब थप उसले ऊर्जा, स्वास्थ्य, सामान्य प्रशासन, पशुपंक्षी, आपूर्ती र महिला तथा बालबालिका मन्त्रालय पाउने भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नेतृत्व गरिरहेको विजय गच्छदारको फोरम लोकतान्त्रिकले पर्यटन र भूमीसुधार मन्त्रालय पाउने छ ।
नेकपा संयुक्तले जनसंख्या तथा वातावरण मन्त्रालय पाउने भएको छ । नेकपा संयुक्तले मिथिला चौधरीलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्