नायीका सिपोरा गुरुङ उदिपको प्रेममा चुर्लुम्मै
भलिबल खेलाडी एवं नायिका सिपोरा गुरुङ यति बेला रिलिज हुन लागेको फिल्म ‘भुइँमान्छे’ को कारण सबैजसोको चासोमा छिन् । फिल्म प्रोमोसनमा देश दौडाहामा निस्केकी उनको चर्चाको विषय अर्को पनि भएको छ । त्यो हो–उनको प्रेमसम्बन्ध ।
सिपोराले फेसबुकबाटै आफू ‘रिलेसनसिप’ मा रहेको सार्वजनिक गरेकी छन् । विभिन्न अन्तर–वार्तामा प्रेममा रहेको खुलेरै स्विकारे पनि कोसँग भन्ने उनले गोप्य नै राखेकी थिइन । उनी दुई वर्षदेखि उदीप श्रेष्ठको प्रेममा चुर्लुम्म डुबेकी छन् ।
उनले केही दिनअघि अमेरिकाको लस एन्जलसस्थित युनिभर्सल स्टुडियोको अगाडि दुवै जनाले खिचेको फोटो फेसबुकमा पोस्ट गरेकी छन् । नारायणगढका उदीप डाक्टरसँगै व्यवसायी पनि हुन् ।
नेपाली विद्यार्थीलाई फिलिपिन्समा पढ्न पठाउने युनाइटेड एसिया प्यासिफिक फाउन्डेसन प्रालि उनकै हो । उनले एसिया कलिङ नामक ट्राभल एजेन्सी पनि सञ्चालन गर्छन् ।
उनी पूर्वसांसद एवं समाजसेवी मैयादेवी श्रेष्ठका नाति हुन । त्यसो त उनको परिवार पनि कुनै बेला फिल्मसँगै सम्बन्धित थियो । चर्चित फिल्म ‘कान्छी’ उनका बुबा प्रेमकुमार श्रेष्ठ र भगवानदास श्रेष्ठले निर्माण गरेका हुन् । हाल भने यो परिवार फिल्म क्षेत्रबाट टाढा छ ।
उदीप र सिपोराले एउटा बिस्कुटको विज्ञापनमा सँगै मोडलिङ पनि गरेका छन् । ‘भुइँमान्छे’ को प्रोमोसनमा ‘होम ग्राउन्ड’ आइपुगेकी सिपोराले परिवारका माध्यमबाट उदीपसँग कुरा चलेको बताइन ।
‘सुरुमा एरेन्ज म्यारिज नै गर्ने गरी कुरा चलेको हो,’ उनले भनिन, ‘एकअर्कालाई बुझ्दाबुझ्दै दुई वर्ष बित्यो ।’ यही वर्ष मंसिरमा बिहे गर्ने योजना पनि उनले सुनाइन । उनले भनिन, ‘खासै हतार त थिएन, तर अब ढिला गर्नुपर्छ जस्तो पनि लागेन ।’
भदौ २ मा प्रदर्शनमा आउने ‘भुइँमान्छे’ मा उनी रमेश बुढाथोकीको अपोजिटमा देखिएकी छन् । पोस्टमार्टम गर्नेहरूको कथा भनिएको ‘भुइँमान्छे’ फरक किसिमको फिल्म भएको सिपोराले बताइन् । ‘यसको कथाले नै मलाई तानेको थियो,’ उनले भनिन, ‘फिल्म आँसु, हाँसो, सन्देश सबै भएको मनोरञ्जनको प्याकेज हो ।’
बिहीबार पोखरा आइपुगेको फिल्म युनिट प्रोमोसनका लागि बुटवल, हेटौंडा, धरान र इटहरी पुग्ने उनले बताइन । उनले यसअघि गुरुङ फिल्म ‘घलेकः द साइन अफ लभ’ र ‘याम्फावती’ मा अभिनय गरिसकेकी छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्