ललितपुरको प्रहरी इन्काउन्टरमा डन प्रविणको मृत्यु
ललितपुरको कुसुन्तीमा सोमबार दिउँसो प्रहरीको ‘इन्काउन्टर’मा एक जना लागु औषध कारोबारी युवाको मृत्यु भएको छ । हतियार रहेको सुराकी पाएपछी बिहानै देखि पिछा गरिरहेको प्रहरीबारे सुईँको पाएपछी भाग्न खोजेका प्रविण खत्रीमाथी इन्काउन्टर भएको हो ।
लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखा टेकुका डिएसपी अजय केसी नेतृत्वको प्रहरी टोली खत्रीको घरमा अप्रेसनका लागि गएको थियो ।
‘प्रहरीले घर घेरेको थाहा पाएपछि उनी कौशीबाट हाम फालेर भाग्न खोजे, दुवै हातमा पेस्तोल बोकेका उनले प्रहरीतर्फ गोली हाने,’ महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले भने, ‘प्रहरीले जवाफी गोली चलाउँदा उनको मृत्यु भयो ।’
डिएसपी अजय केसीका अनुसार प्रहरीले घर घेराउ गर्दा खत्री श्रीमतीसँगै कोठामा थिए । प्रहरी आएको थाहा पाएपछि उनले साढे दुई तला माथिको कौशीमा गएर हाम फालेका थिए ।
‘हाम फालेर उनले प्रहरीलाई ताकेर गोली हानेका थिए, तर कसैलाई लागेन त्यसपछि उनले आफ्नै कन्चटमा गोली हाने,’ केसीले भने, ‘त्यतिन्जेल प्रहरीले पनि गोली चलाएको थियो । प्रहरीको गोली उनको घुँडाभन्दा मुनी लागेको छ ।’
गोली लागेपछी घर पछाडी ढलेका प्रविणलाई प्रहरीले तत्काल पाटन अस्पताल पुर्याएको थियो । तर अस्पताल पुग्ने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले प्रविणले प्रयोग गरेका २ ओटा पेस्तोल बरामत गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्