सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फेसबुकमा फोटो ५० प्रहरी अधिकारीलाई कारबाही

सामाजिक सञ्जालमा प्रहरी पोशाकमा तस्वीर राख्ने ५० भन्दा बढी प्रहरी अधिकारीमाथि कारवाही सुरु गरिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले भर्खरै बढुवा भएको खुसियालीमा फेसबुकमा युनिफर्म सहितको तस्वीर राख्ने एसएसपी, एसपी र डीएसपीसहितका प्रहरी अधिकृतमाथि २४ घण्टे स्पष्टिकरण सोधेर कारवाही प्रक्रिया अगाडि बढाएको हो ।

कानुन शाखाले एसएसपीमा बढुवा भएका देवबहादुर बोहरा, उत्तम सुवेदी, दीवस लोहनी, रवीन्द्र धानुक, एसपीमा बुढा भएका इश्वर कार्की तथा डीएसपीमा बढुवा भएका गङ्गाबहादुर थापा, छेदिलाल कामती, नवीन कार्की र रुपक खड्कालाई अल्टिमेटम सोधेको छ । एसपी डा. गणेश रेग्मीद्वारा हस्ताक्षरित पत्रमा सामाजिक सञ्जालमार्फत् आचारसंहिता उल्लंघन गरेकाले स्पष्टिकरण सोधिएको उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले २०७३ वैशाखबाट नेपाल प्रहरीमा कार्यरत कोही पनि अधिकृत वा जवानलाई फेसबुकमा युनिफर्मसहितको फोटो पोस्ट गर्न वा प्रोफाइल तस्वीरमा नराख्न निर्देशन जारी गरेको थियो । तर, सर्कुलरको उल्लंघन भएको भन्दै प्रहरीले ती अधिकृतलाई स्पष्टिकरण सोधेको हो ।

स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नआएमा उनीहरुमाथि विभागीय कारवाही हुनेछ । गृहमन्त्री जनार्दन शर्माको विशेष चासोमा यो प्रक्रिया अगाडि बढाइएको स्रोतले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्