जापानी उच्च अधिकारीहरु नेपालमा
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव र पारस्परिक सम्बन्धका बिबिध पक्षबारे छलफल गर्न नेपाल–जापान राजनीतिक परामर्श संयन्त्रको बैठक भोलि हुने भएको छ । नेपालको विकास प्रयासमा उपलब्ध जापानी सहयोग, भूकम्पपछिको पुनःनिर्माणमा जापानी मद्दत लगायतका विषयले छलफलमा स्थान पाउने बताईएको छ ।
स्रोतका अनुसार बैठकमा जापानी टोलीले भुकम्पपछीको पुर्ननिर्माणमा भएका कामहरुको बारेमा चासो राख्ने बुझिएको छ भने आगामी सहयोगका बारेमा समेत छलफल हुने बताईएको छ । संयन्त्रको बैठकमा क्षेत्रीय र विश्वव्यापी चासोका विषयमा समेत विचार विमर्श हुने नेपाली टोलीको नेतृत्व गर्ने परराष्ट्र मन्त्रालयका सहसचिव एवम् उत्तरपूर्व एसिया महाशाखाका प्रमुख झवीन्द्रप्रसाद अर्यालले बताउनु भएको छ ।
बैठकमा जापानी पक्षको नेतृत्व जापानको परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी, दक्षिणपश्चिमी मामिला विभागका महानिर्देशक काजुया नासिदाले गर्नुहुनेछ । बैठकमा भाग लिन तीन सदस्यीय जापानी प्रतिनिधिमण्डल मंगलबार बिहान काठमाण्डौ आइसकेको छ ।
सो बैठकमा नेपालका लागि जापानका राजदूत मासासी ओगावासहित नेपालस्थित जापानी राजदूतावासका उच्च अधिकारीहरु ९ जना सहभागी हुने बताईएको छ । त्यसैगरी बैठकमा नेपालका तर्फबाट १५ जना वरिष्ठ अधिकारीहरु सहभागी हुनेछन । रासस
फेसबुकबाट कमेन्ट गर्नुहोस्