सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको खोलामा बगेर नुवाकोटका दिवाकर बेपत्ता

जापानको तोचिगीको स्थानीय खोलामा पौडी खेल्न गएका एक नेपाली बगेर वेपत्ता भएका छन । नेपालमा नुवाकोट घर भएका २६ बर्षिय दिवाकर लोहनी शनिवार स्थानीय खोलामा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएको स्थानीय प्रहरीले बताएको छ ।

तोचिगीकेनको तोचिगीसी स्थित स्थानीय खोलामा पाँच जना साथीहरु संगै पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा लोहनी एक्कासी हराएपछी साथीहरुले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता दिवाकरसँगै पौडी खेल्न गएका साथीहरुका अनुसार मध्यान्ह ३ बजेतिर उनी वेपत्ता भएका थिए ।

बेपत्ता भएको खबर पाए लगत्तै स्थानीय प्रहरी, फायर फाईटरको टिम लगायतको खोजकर्ताको टिमले व्यापक खोजी गरेपनि लोहनीलाई भेटाउन नसकेको गैर आवासीय नेपाली संघ, क्षेत्रिय समिति तोचिगीका संयोजक विकास वस्नेतले जानकारी दिएका छन ।

बेपत्ता लोहनीलाई शनिवार हेलिकप्टर मार्फत समेत २ घण्टा लगाएर खोजीएको थियो । शनिवार नभेटिएपछी आईतबार बिहानै देखी खोजी कार्य सुरु गरिएको एनआरएनए तोचिगीका संयोजक वस्नेतले बताएका छन ।

बेपत्ता लोहनीको खोजीका लागी संयोजक वस्नेतको टोली अहिले पनि घटनास्थलमा छ । लोहनी बेपत्ता भएकोबारे नेपालमा घरपरिवारलाई जानकारी गराईसकिएको एनआरएनए तोचिगीका संयोजक वस्नेतले बताएका छन ।

बेपत्ता लोहनी जापानी भाषा अध्ययनका लागी नागानोस्थित नागानो ल्याङ्ग्वेज कलेजमा जापान आएका थिए । उनी अहिले पढाई छाडेर शरणार्थी आवेदन दिएर तोचिगीसीमा बस्दै आएका थिए । नेपालमा उनको परिवार हाल काठमाण्डौको बालाजुमा बस्दै आएको बताईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्