सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

२७ तोला सुनका लागी ५५ बर्षीया पार्वतीको हत्या

गत साउन १२ गते काठमाडौं बुढानिलकण्ठमा ५५ वर्षीया पार्वती ढकालको हत्या भयो । घरमा ढकालमात्र भएको अवस्थामा दिउँसै उनीमाथि आक्रमण भएको थियो ।

साँझ घर पुगेका आफन्तले ढकालको शव देखे । टाउकोमा ह्याम्बरले हानेको अवस्थामा शव थियो । तर घटना भएको २२ दिनपछि ढकालको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् ।

नुवाकोट ककनी गाउँपालिका २ घर भइ तारकेश्वरमा बस्दै आएका ३० वर्षका सुदामा लामिछाने कपिलवस्तुबाट पक्राउ परेका हुन् । उनीसँगै अन्य ३ जना पनि पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका एसएसपी दिनेश अमात्यका अनुसार चिनेजानेकै ब्यक्तिले सुन लुट्न ढकालको हत्या गरेको बताएका छन । सुदामा ढकालको माइतपक्षका आफन्त हुन् । सुदामा बेला बेलामा ढकाल भएको घरमा गएर घरायसी काम सघाइदिने गर्दथे ।

ढकालसँग २७ तोला सुन छ भन्ने थाहा पाएको र सुन लुट्नकै लागि सुदामाले हत्याको योजना बुनेको एसएसपी अमात्यले बताएका छन । सुदामा र ढकालको चिनजान भने २०७४ साल वैशाख महिनामा भएको हो । सुदामाले ढकालको घरमा करिब १ हप्ता मात्र काम गरी एक हजार लिएर गएका थिए ।

काम छाडेको करिब २ महिना पछि सुदामा लामिछानेले विदेश जानको लागी पासपोर्ट बनाउन पैसा मागेको एसपी दीपक रेग्मीले बताएका छन । पार्वती ढकालले आफुसंग पैसा नभएको र छोरी गीता ढकाललाई सोध्नुपर्छ भनेकोले उनी करिब २ घण्टा जति गफ गरेर फर्केका थिए ।

उनलाई पैसा आवश्यक परेको र गीता ढकालको घरमा सुनका गर गहना लगायतका सरसामानहरु राख्ने स्थान समेत देखेका कारण उनी बालाजु गंगाहल नजिकै रहेको होटलमा बसी साथीसँगै बसी गीता ढकालको घरमा लुटपाट गर्ने योजना बनाएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्