ओली भन्छन–‘देउवाका कारण देशको शिर झुक्यो’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिले देशको शीर निहुरिएको टिप्पणी गरेका छन् ।
एमाले अध्यक्ष ओलीले संविधान संशोधनलाई लिएर देउवा भारतीय समकक्षीसामू ‘गिडगिडाएको’ बताएका छन । नियमित उपचारका लागि बैंकक जाने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले देउवाको चर्को आलोचना गरेका हुन ।
देउवाले मोदीलाई संविधान संशोधन गर्ने वचन दिएकोमा असन्तुष्टि जनाउँदै ओलीले भने–‘संसदले गरेको फैसलालाई धज्जी उडाउनु भएको छ । गिडगिडाएर क्षमायाचनाको भाषामा भन्नु भएको छ, प्रभु मैले कोसिस गरेको थिएँ तर सकिँन ।’
देउवाले देशको स्वाभिमानको वास्ता नगरेको र असान्दर्भिक रुपमा संविधान संशोधनको विषय ल्याएको उनको आरोप छ । ओलीले भने–‘उहाँको हाउभाउ, अभिव्यक्ति, उहाँले प्रस्तुत गरेका विषयवस्तुले देशकै शीर निहुरिएको छ ।’
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको संयुक्त पत्रकार सम्मेलनमा मोदीलाई दुई तिहाई पुर्याएर संविधान संशोधन गर्ने बचन दिएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्