प्रहरी हत्या प्रकरणमा २ युवतीसहित ६ पक्राउ
प्रहरीले कञ्चनपुरको भीमदत्तनगरमा बिहिबार भएको सशस्त्र प्रहरी जवानको हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजस्व तथा भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार राति ड्युटी सकेर घर फर्किएकोमा बिहिबार बिहान भीमदत्तनगरपालिका–६ मा हत्या गरिएको अवस्थामा भेटिएका थिए ।
घटनालगत्तै विस्तृत अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने अन्य शंकास्पद व्यक्तिलाई पनि सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाउने काम भइरहेको जनाएको छ ।
हत्या गरिएका सशस्त्रका जवान कुँवरले प्रयोग गरेको मोटरसाइकल घटनास्थल छेउमै रहेको नहरको झाडीमा फालिएको थियो भने शव थुपारिएको ढुंगामाथि राखिएको अवस्थामा भेटिएको थियो । प्रारम्भिक अनुसन्धानमा जवान कुँवरसहित केही व्यक्तिले घटनापूर्व यहाँको एउटा होटलमा मादक पदार्थ समेत सेवन गरेका थिए ।
मादक पदार्थ सेवन गर्दा साथमा रहेका व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी, कुँवरको शव परीक्षणपछि शुक्रबार आफन्तको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिएका छन ।
कुँवरको हत्यापछि आक्रोसित स्थानीयवासी र उनका आफन्तले शान्ति सुरक्षाको माग गर्दै बिहिबार भीमदत्तनगरमा केहीबेर यातायात र बजार अवरुद्ध पारेर प्रदर्शन गरेका थिए । कञ्चनपुरमा हत्या शृंखला दोहरिन थालेपछि यहाँका स्थानीय बासिन्दा त्रसित भएका छन् । रासस
फेसबुकबाट कमेन्ट गर्नुहोस्